म्ह पूजा कसरी मनाउन थालियो भन्नेबारे संस्कृतिविद् साफल्य अमात्यको ‘काठमाडौं नगरायणः काठमाडौं नगरको उद्भव, नगरायण र संस्कृतिको इतिहास’ किताबमा उल्लेख छ । यसपालि तिहार र नेपाल सम्बतका अवसरमा हामीले किताबको उक्त अंश साभार गरेका छौं ।
प्रचलित वंशावली अनुसार कान्तिपुर निर्माणको श्रेय राजा गुणकामदेवलाई दिइएको छ ।
गुणकामदेव प्रथम इस्वी (८७ देखि ९९) ताका नेपाल उपत्यकाका राजा थिए । उनी राजा नरेन्द्रदेवका भाई थिए । उनलाई सपनामा महालक्ष्मीले आज्ञा गरिन्, ‘हे राजा, तिमी बागमती र विष्णुमतीको संगमनिर, जहाँ कान्तिश्वर महादेवले बास गरेका छन्, त्यहाँ एउटा पुरी बनाऊ । त्यस पुरीलाई खड्गाकार बनाई कान्तिपुरी भनी नाम देऊ ।’
देवीको आज्ञाअनुसार राजाले कलिगत वर्ष ३८२५ (इस्वी ७२४) मा १८ हजार घर भएको कान्तिपुर सहर बसाले । वंशावलीको यो विश्लेषण हेर्ने हो भने कलिगत वर्ष ३८२५ (इस्वी ७२४) मा नेपाल उपत्यकाका राजा जयदेव द्वितीय थिए ।
कान्तिपुरको निर्माण अर्थात्, कोलिग्राम र दक्षिण कोलिग्राम संयुक्त भई एउटै सहरको रूपमा विकसित हुने क्रमको सुरुआत भने दसौं शताब्दीमा राजा गुणकामदेवको समयदेखि मात्र भएको हुने सम्भावना धेरै छ ।
लिच्छविकालमा टुकुचा र धोबीखोलाको बीच ठूलो बस्ती थियो । त्यो लिच्छविहरूको राजधानी सहर पनि थियो । यसका सीमाना थःबही (ठमेल), लाजिम्पाटदेखि उत्तरमा धुम्बाराही, पूर्वमा ग्वल (देवपाटन), दक्षिणमा कोरीगां (दक्षिण कोलिग्राम), बागमतीको किनारसम्म फैलिएको थियो । आजभोलिको नक्साल, नारायणहिटी, बानेश्वर, ज्ञानेश्वर सबै यसैभित्र पर्थे ।
यो सहर निकै ठूलो हुनाले वंशावलीहरूमा यसलाई ‘विशालनगर’ भनी नामाकरण गरिएको छ ।
अन्तरिम कालको आखिरी र मल्लकालको सुरुताका नै यो सहर विस्तारै स–साना टुक्रामा विभक्त भई टाढाटाढा छुट्टिन लागेको देखिन्छ । मल्लकालको उत्तराद्र्धमा यहाँ धेरै स–साना बस्ती तथा गाउँहरू विकसित हुन थाले ।
जस्तै– हाँडीगाउँ, नरा (टुँडालदेवी), मघा (मैतीदेवी द्यःछे), नङ्सां (नक्साल), टंगाल, ज्ञानेश्वर आदि । तर, यति ठूलो विशालनगर सहर कसरी टुक्राटुक्री भई स–साना गाउँबस्तीमा परिणत भयो भन्नेबारे कतै उल्लेख पाइँदैन । धेरैजसो वंशावलीहरूमा ठूलो आगलागीद्वारा विशालनगर ध्वस्त भएको कुरा भने रोमाञ्चक किसिमले दन्त्यकथाका रूपमा उल्लेख गरिएको छ । वास्तवमा राघवदेवको समय (इस्वी ८७९) तिर प्राचीन विशालनगरमा भएको भयंकर आगलागीले उपत्यकावासीहरूको जीवन नै तहसनहस पारिदियो ।
सबैको घरबार उजाडियो । सबैको धनसम्पत्ति हानी भयो । यो यति ठूलो दुर्घटना थियो, उपत्यकावासीहरू आजभन्दा एघार सय वर्षअघि भएको यो दुर्घटनालाई आज पनि सम्झन्छन् ।
यो दुर्घटनामा लिच्छविहरूका प्राचीन राजधानी र दरबारहरू मानगृह र कैलाशकुट भवन पनि ध्वस्त भए ।
यति ठूलो दुर्घटनाबाट ज्यान जोगाउन सफल भएका उपत्यकावासीहरूले खुसियाली मनाउन थाले। कात्तिक शुल्क परेवाका दिन नयाँ सम्बत् चलाए । सोही दिन म्ह पूजा (आत्मपूजा) गरी रक्सी, फुल, माछा, मासु र मासको बारा राखेर सगुन खाने चलन चलाए । यो चलन नेवार समुदायमा जीवितै छ ।
आगलागीपछि धेरै देशवासी यत्रतत्र छरिएर बसोबास गर्न थाले । धेरै मान्छे बन्दबेपारले धनी हुँदै गएको नजिकैको दक्षिण कोलिग्राम (अहिलेको वसन्तपुर, असन, इन्द्रचोक लगायत मध्य काठमाडौं सहर) मा आएर बसोबास गर्न थाले । कोही भने ललितपुरतिर बस्न गए ।
प्राचीन विशालनगर क्षेत्र हाँडीगाउँ, मालिगाउँ, टंगाल इलाकामा धेरै कम मात्र मान्छे बस्न थाले । यसको पुष्टिस्वरुप विजयादशमीको साँझ निस्कने खड्ग यात्रा (पायः) हो । असनटोलबाट निस्कने खड्गयात्रामा सहभागीहरू प्राचीन विशालनगर क्षेत्रबाटै आएका हुन् भन्ने चलन छ । केही मानन्धर, मल्ल र ललितपुरका केही भद्र परिवारका मान्छेको कुलदेवी पनि अझै श्रीमनमानेश्वरी देवी नै छन् । यसरी मनमानेश्वरी देवीलाई कुलदेवी मानेर पूजा गर्ने सम्पूर्ण मान्छेका पुस्ता प्राचीन विशालनगरवासी नै थिए भन्न सकिन्छ ।
त्यसैले, राघवदेवले नेपाल सम्बत सुरु गरेको धेरै वर्षपछि मात्र गुणकामदेवलाई कान्तिपुर निर्माण गर्नु आवश्यक भएको पनि यहाँ पुष्टि हुन्छ । प्राचीन राजधानी ध्वस्त नभएको भए नयाँ सहर तथा राजधानी कान्तिपुर निर्माण गर्नुपर्ने आवश्यकतै थिएन । सेतोपाटीले यो सामग्री छापेको छ ।