काठमाडौँ । राजधानीमा ‘सांस्कृतिक रुपान्तरणमा श्रष्टाहरुको भूमिका’ विषयक विचार गोष्ठी तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । अनामनगरस्थित संवाद डबलीमा आयोजित कार्यक्रम अखिल नेपाल लेखक संघ केन्द्रीय समितिले आयोजनामा गरेको हो । कार्यक्रममा दर्जनौं कविहरुले आ–आफ्ना कविता वाचन गरेका थिए भने विशेषज्ञहरुले प्रवचन दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा मार्क्सवादी सौन्दर्य चिन्तक अनिल शर्मा ‘विरही’ले संसारमा कविहरुको जगमा नै दार्शनिकहरु जन्मिने विचार व्यक्त गरे । विरहीले भने,‘हरेक वस्तुको उत्पती हुनु भन्दा पहिले मानिसमा एउटा कल्पना आउँछ त्यो नै कविता हो ।’ युरोपको दास प्रथाबारे त्यहाँका कविहरुले उल्लेख नगरेको भए युनानी दार्शनिकहरु जन्मदै नजन्मने वा जन्मे पनि धेरै ढिलो जन्मने हुन्थे होला भन्ने विचार व्यक्त गर्दै उनले नेपालको पनि सामन्ती व्यवस्था विरुद्धकोआन्दोलनमा कवि र कविता नै पहिले देखा परेको बताए ।

कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कि केन्द्रीय अध्यक्ष बन्धु चन्द, जनक्रान्तिका महान शहीद परिवार संगठनकी केन्द्रिय अध्यक्ष खुमा सुवेदी, अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलिया लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कवयित्री खुमा सुवेदीले ‘शहीद’ शिर्षकमा, कवि खेम थपलियाले ‘सौन्दर्य शिखरको यात्रा’ शिर्षकमा, कवि अशोक सुवेदीले ‘प्रदुषित हावाका विरुद्ध’ शिर्षकमा कवि मोक्तान थेवाले ‘घाँस’ शिर्षकमा, कवि कुशल बोगटीले ‘उन्नत जातका कम्युनिष्ट’ शिर्षकमा कवि ढुण्डीराज अधिकारीले ‘रातो तारा’ शिर्षकमा, कवि अग्निराज पौडेल ‘अराप’ले ‘उस्तै उस्तै त हो’ शिर्षकमा, कवि प्रतिक चन्दले ‘समय र म’ शिर्षकमा, कवि खेमराज आचार्यले ‘तिम्रो हुलिया जस्तै छ देश’ शिर्षकमा कवि रसुवाली कविले ‘मात्दै नमातेको दमाई’ शिर्षकमा र कवि युवराज नास्तिकले ‘आमालाई शहीदको पत्र’ शिर्षकमा कविता वाचन गरेका थिए ।

विचार गोष्टी तथा कविता वाचन कार्यक्रम अखिल नेपाल लेखक संघका केन्द्रीय उपाध्यक्ष अशोक सुवेदीको अध्यक्षतामा भएको थियो । कार्यक्रमलाई संघका सहसचिव मोक्तान थेवाले संचालन गरेका थिए भने उपस्थित कवि तथा साहित्यकारहरुलाई कोषाध्यक्ष प्रतिवद्धले स्वागत मन्तव्य दिएर स्वागत गरेका थिए ।
कविहरुका थप तस्विर ⇓












