काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारतको कैंचीधामलगायतका तीर्थस्थलको भ्रमणमा निस्किएका छन् । उनी शुक्रबार धनगढी हुँदै भारतका विभिन्न धार्मिकस्थलतर्फ प्रस्थान गरेका हुन् ।
उनले धनगढी विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै आफू कारागारमा रहँदा गरेको भाकल पूरा गर्न निजी तथा पारिवारिक रूपमा तीर्थाटनमा निस्किएको बताए ।
आफ्नो भारत भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट नहुने स्पष्ट पार्दै सभापति लामिछानेले भ्रमणलाई लिएर राजनीतिक रूपमा खिचडी नपकाउन आग्रह गरे ।
भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको लामिछानेको सचिवालयले जनाएको छ ।