• मंसिर १४ २०८१, शुक्रबार

उत्पीडित समुदायको पक्षमा लड्ने राजा सलहेस को थिए ?

कार्तिक १३ २०७८, शनिबार

संसारको इतिहासमा राजामहाराजाको स्थान बेग्लै बनाइएको हुन्छ । उनीहरुको सामाजिक र आर्थिक हैसियत सामान्य जनताको भन्दा माथि रहेको पाइन्छ । पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धभन्दा पछि पनि संसारका धेरै देशहरु राजाहरुकै मातहतमा चल्दै आए ।

पुँजीपति वर्गले अर्थतन्त्रसहित शासनसत्ता हातमा लिएपछि बिस्तारै राजाहरुले चलाउने शासन कमजोर हुँदै गएको हो । यसलाई नै सामन्तवादबाट पुँजीवादी युगमा प्रवेश गरेको भनिन्छ । कुनै बेला र हाल पनि कतै कतै अझैपनि धर्मगुरुले शासन गरेको पनि पाइन्छ ।

उनीहरुले बोलेको बचनलाई महान् बचन मान्ने गरेको पाइन्छ । उनीहरुले बोलेको बचन वा दिएको आदेशलाई मानेर समाज चलेको पनि देख्न सकिन्छ । यसैगरी कुनै समयमा ठूलठूला बस्ती र मौजा ओगटेर बसेका राजामहाराजाले नै शासन गरेका हुन्थे ।

ती महाराजहरुले कुनै न कुनै धर्मग्रन्थमा उल्लेख गरिएका नीति र विधिहरुको आधारमा शासन गरेका हुन्थे । क्रिश्चियनका पास्चर, बौद्ध धर्मका लामा र हिन्दू धर्मका पण्डितले आआफ्ना क्षेत्रमा धार्मिक कानूनअनुसार शासन गरेका हुन्थे र कतै कतै त अहिले पनि गरिरहेका छन् ।

पश्चिमा देशहरुमा आज पनि बाइबल साक्षी राखेर कुनै पनि राजकीय पदको सपथ खुवाइन्छ । नेपाल र भारत लगायत दक्षिण एसियाका धेरै देशहरुमा बनाइएका संविधान र सामाजिक सम्बन्धमा आजपनि हिन्दू धर्मको प्रभाव जबरजस्त छ ।

मतलव राजामहाराजाहरुले चलाउने शासनमा कुनै न कुनै धर्मको प्रभाव थियो र आज पनि छ । हामीलाई पढाइएको इतिहासमा राजा र महाराजहरुका कथाहरुमा राजालाई अब्बल र उत्कृष्ट पात्रको रुपमा उभ्याइएको छ र जनतालाई रैतीको रुपमा तल्लो दर्जामा राखिएको पाइन्छ ।

त्यतिबेलाको समाजको जनता र शासकहरुको स्तर नै ती कथाहरुमा व्यक्त भएको पाइन्छ । यति भएपछि पक्कै पनि राजाहरु महान् हुन् र जनताहरु उनीहरुभन्दा तल्लोस्तरका हुन् । त्यही अनुसारको संरचनामा त्यतिबेलाको समाजलाई ढालिएको थियो भन्नेमा कुनै शंका रहेन ।

तर त्यतिबेला पनि सबै राजाहरुले जनतामाथि शासन गर्दा अन्यायपूर्ण तरिकाले गरेका थिए भन्नेमा चाँही पुग्नु हुँदैन । किनकि सबै शासन र शासकहरु निरंकुश नै हुन्छन् भन्ने हुँदैन । नेपालमै पनि धेरै राजाहरुलाई कल्याणकारी र परोपकारी राजाको रुपमा उभ्याइएको छ । जस्तैः कुशल शासकको रुपमा चिनिएका अंशुबर्मा र सबैले खाएपछि खाले राजाको रुपमा चिनिएका महिन्द्र मल्ल आदि ।

कुनै कुनै राजाहरु पनि देशभक्त र जनप्रेमी हुन्थे भन्न सकिन्छ । त्यस्तै पाँचौ र छैठौं शताब्दीतिर आजको नेपालको पूर्वी तराई (मिथिला क्षेत्र)मा सलहेस नामका एकजना राजा थिए । उनका बारेमा आजका औपचारिक पाठ्यपुस्तकमा धेरै नपढाइए पनि श्रुति परम्पराका आधारमा मात्रै पनि उनले त्यतिबेलाको समाजमा सामाजिक तथा धार्मिक सुधार ल्याउन धेरै प्रयास गरेको पाइन्छ ।

नेपालका धेरै बौद्धिकहरु इतिहास र संस्कृतिजस्ता विषयहरु पनि वर्ग र समुदाय सापेक्ष हुन्छन् भन्ने तर्क गर्दछन् । उनीहरुको तर्कलाई आधार मान्ने हो भने इतिहास पनि पक्षधरताको आधारमा लेखिएका थिए भनेर मान्नु पर्ने हुन्छ ।

इतिहासकारका अनुसार आजको जनकपुर, जहाँ छैठौं शताब्दीमा राजा जनकले शासन गर्थे । राजा जनकले आफ्नो समयमा हरिद्वारबाट ब्राह्मणहरु बोलाएर हिन्दू धर्मअनुसार यज्ञ लगाएको इतिहास पाइन्छ ।

तर राजा जनकपछि सोही स्थानमा अर्का राजाको पनि उदय भएको इतिहास पनि रहेको छ । उनी थिए, राजा सलहेस । समाजशास्त्र र इतिहासका अध्ययता तथा मार्क्सवादी सौन्दर्य चिन्तक विश्वभक्त दुलाल ‘आहुति’ भने राजा सलहेसलाई त्यतिबेलाको समाजमा रहेका सामाजिक तथा धार्मिक विकृतिविरुद्ध लड्ने साहसी राजाका रुपमा बुझ्ने गर्दछन् ।

उनी भन्दछन्,‘राजा  सलहेसले त्यतिबेलाको हिन्दू धर्मको आधारमा बनाइएको समाजमा शुद्रहरुमाथि जुन प्रकारको विभेद र अत्याचार गरिन्थ्यो, त्यसविरुद्ध राजा भएर पनि  सलहेसले जुन विद्रोह गरे, त्यो सह्रानीय थियो ।’

संसारभर राजमहाराजाले धर्म र जातको आधारमा अन्य धर्म र साना भनिएका जातीय समुदायहरुमाथि शासन गरेका बेला राजा भएर पनि शुद्रहरुमाथिको दमनविरुद्ध विद्रोह गर्ने राजा सलहेस को थिए त ? आउनुस् उनका बारेमा केही जानकारी राखौं ।

तत्कालीन मिथिलाको गाउँघरमा लोकप्रिय पात्र थिए, राजा सलहेस । राजा जनकपछि मिथिलामा राजा  सलहेसलाई महान् व्यक्ति मानिन्छ । पाँचौ–छैठौं शताब्दीतिर मिथिलामा आफ्नो पराक्रम र चमत्कारिक नेतृत्वले गर्दा आजसम्म उनको चर्चा छ । महिसौथा, हालको सिरहा माडर उनको जन्मस्थल हो ।

उनको वास्तविक नाम भने राजा जयवद्र्धन सैलेश रहेको थियो । यिनी कुनै दन्त्य कथाका पात्र होइनन्, न त पुराणका यशस्वी राजर्षि नै हुन् । उनी त्यतिबेला राजा भए तापनि लोककल्याणमा सक्रिय थिए, जसका कारण उनी जनताका प्रियपात्र बनेको बताइन्छ ।

त्यसैले आज पनि त्यहाँका आममानिस नै यिनको अमरत्वको रक्षक बनेका छन् । उनको व्यक्तित्वमा अचम्मको आकर्षण छ । प्रेम, प्रकृति, सौर्य, न्याय र नेतृत्व सबै गुणमा उनी सबल मानिन्थे । सलहेस मात्र नभएर उनका सहयोगी पात्रहरू पनि देउता झैँ पुजिन्छन् ।

पूर्वी नेपाल र उत्तरी बिहार अर्थात् मिथिला क्षेत्र  सलहेसको कर्मथलो थियो । मिथिलामा अन्याय, अत्याचार र अराजकता बढेको समयमा सलहेसको प्रादुर्भाव भएको थियो । उनलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचारविरूद्ध लडेका विद्रोही पात्रका रूपमासमेत चिनिन्छ । उनलाई तराइको दुसाध समुदायले अहिले पनि भगवानका रूपमा पुजा गर्ने गर्छन् ।

सिराहाको लहानदेखि चार किलोमिटर पश्चिममा उनको नाममा राखिएको ‘सलहेस फुलबारी’ छ । हरेक वर्षको नयाँ वर्षमा उक्त फुलबारीमा फूल फुल्ने गर्छ । फुलबारीमा पूजा गर्न आउने मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । यो फुलबारीमा राजा सलहेस फूल टिप्ने जान्थे भन्ने किम्वदन्ती छ ।

सलहेसलाई उनकी प्रेमीका कुशमा मालिकले हरेक दिन त्यहाँ फूलको माला अर्पण गर्थिन् भन्ने विश्वास छ । त्यही प्रेमको प्रतिकका रूपमा आज पनि त्यहाँ फूल फुल्ने गरेको विश्वास गरिन्छ ।

बैशाख १ गते त्यहाँ ठूलो मेला लाग्ने गर्छ जहाँ नेपाल र भारतबाट लाखौं मानिस मेला भर्न आउने गर्छन् ।