कविजी !
आरनबाटै
आरनको कविता लेख्नु छ
र, बोल्नु छ आरनको कथा
गर्नु छ आरनको बखान
गाउनु छ आरनकै गीत
अनि उभिनु छ आरनसँगै ।
इतिहासको उत्तराद्र्धमा
मक्किएर, च्यातिएर
अस्तित्व च्यूत भएको
इतिहासको अवसानका लागि
पुरानो र मैलो इतिहासको ठेली
जलाउनु छ आरनमै
र, सेक्नु छ आरनकै आगोले
निमोनियाले दुःखेको देशको छाती ।
कलमका निवहरू तिखार्नु छ आरनबाटै
फेरि नखिइने गरी
विचारहरूमा धार लगाउनु छ आरनमै
फेरि नभुत्तिने गरी
र, मुठ्ठीहरू बजार्नु छ फलाममा
मुठ्ठीहरू नै फलाम हुने गरी ।
आउनुहोस् कविजी !
एकपटक आरनको नजिक भएर हेर्नुस्
कोइलाहरुमा सल्किएको आगोसँगै
आशाका सपनाहरू बोकेर
समय बदल्ने अठोटका साथ
एउटा बुढो आदर्श
कसरी घुमाइरहेछ पुरानो पंखा
वर्षौंदेखि
र, के भन्न खोजिरहेछ ऊ ?
सत्य यही हो कविजी
आरन आरनमात्र हैन
यो त पाठशाला हो
बहाव हो परिवर्तनको
स्रोत हो शक्तिको
जहाँ सिँगार्न सिकिन्छ श्रमले माटो
जहाँ भोग्छ पसिनाको स्वाद जीवनले ।
आरनमै खाएपछि हजारौं चोट
र, जलेपछि कोइलाहरूमा
फलाम बदल्छ आफूले आफूलाई
औजार, हतियारमा
उसैगरी
राखेर आरनमा समयलाई
बनाउनु छ रातो र स्वर्णीम
अनि
राखेर आरनमै यो भूगोललाई पनि
बनाउनु छ देश ।