• मंसिर ११ २०८१, मंगलवार

सेकेण्ड ब्रेन

कार्तिक १० २०७८, बुधबार

खोपडीभित्र रहेको लगभग डेढ किलोको ब्रेन (मस्तिष्क) मानव शरीरको एक प्रमुख जीवनदायी अङ्ग हो । ब्रेनद्वारा नै शरीरका हरेक अङ्गहरूको नियन्त्रण, नियमन तथा सञ्चालन हुने गर्छ ।

मानिसलाई बुद्धिमान् तथा समझदार प्राणी बनाउने प्रमुख अङ्ग पनि यही ब्रेन नै हो । ब्रेन मेमोरी बैंक पनि हो ।

मेमोरी लगायत सम्पूर्ण कग्निटिभ तथा चेतना व्यवहारको मुख्य सञ्चालक पनि यही ब्रेन हो । वास्तवमा  ब्रेन बोडीको बोस हो । त्यसैले मानव जीवनमा खोपडीभित्र रहेको यस ब्रेनको ठूलो महत्व छ ।

तर धेरैलाई अचम्म लाग्न सक्ने कुरा के भने मानव शरीरमा अर्को पनि ब्रेन छ, पेटमा । जसलाई सेकेण्ड ब्रेन भन्ने गरिन्छ । लगभग १० करोड स्नायुकोषहरुले बनेको यो सानो सेकेण्ड ब्रेन (इन्टेरिक नर्भस सिस्टम, छोटकरीमा ईएनएस) निकै स्मार्ट र इन्टेलिजेन्ट छ ।

यो ब्रेन पाचनप्रणालीको नियमन तथा नियन्त्रण गर्न उत्तरदायी हुन्छ । यही सेकेण्ड ब्रेनले नै भोक तथा तिर्खा लागेको तथा अगाएको सूचना बिग  ब्रेनकहाँ पठाउने गर्छ ।

वास्तवमा सेकेण्ड ब्रेन र बिग ब्रेनले दोहोरो ट्राफिकका रुपमा कार्य गर्छन् । त्यसैले पेटमा कुनै समस्या पैदा भएको खण्डमा मस्तिष्क अनि पूरा शरीर नै प्रभावित हुन्छ ।

सेकेण्ड ब्रेनले ३० भन्दा बढी स्नायु रसायनहरु प्रयोग गर्छ । ९५ प्रतिशत सेरोटोनिन त सेकेण्ड ब्रेनमा नै हुने गर्छ । स्नायुकोषका साथै सेकेण्ड  ब्रेनमा १०० अरब भन्दा बढी ब्याक्टेरियाहरुले घर बनाएर बसेका हुन्छन् ।

जसले मानिस जन्मेदेखि नै हरेक क्षण मानिसको व्यबहारमा प्रभाव पार्छन् । पाचनप्रणाली केवल शरीरिक स्वास्थ्यका लागि महत्वपूर्ण नभएर मानसिक स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

त्यसैले पेट ठीक छ भने मूड पनि ठीक हुन्छ । वास्तवमा मानसिक स्वास्थ्यमा पेटले महत्वपूर्ण भूमिका निभाउँछ । यसबाट के प्रष्ट छ हुन्छ कि मानसिक रोग केवल मनमस्तिष्कसँग मात्र सम्बन्धित हुँदैन, पेटसँग पनि सम्बन्धित हुन्छ ।

त्यसैगरी मनमस्तिष्कमा पैदा हुने बिचार तथा भावनाले पेटमा प्रभाव गर्छ । अधिकांश पेटका रोगहरु जस्तैः अपच, अम्लपित्त तथा ग्यास्ट्राइटिस आदि तनाब, चिन्ता तथा डिप्रेसन आदिका कारण पैदा हुन्छ ।

बढी मानसिक चिन्ता, तनाव, उद्वेग, तथा शोकआदिजस्ता मानसिक विकारहरुले एसिडिटीजस्ता पेटका रोगहरु बढाउन सहयोग गर्छ । ईष्या, देष, क्रोध, तनाव, व्यग्रता, अनावश्यक र अति चिन्ता, यस्ता मनोविकारहरु हुन्, जसले पाचन प्रणालीलाई प्रभावित पारेर आमाशय स्थित ग्यास्ट्रिक ग्लैन्डलाई बढी उत्तेजित बनाइ बढी एसिड पैदा गर्न सहयोग गर्छ ।

अर्को कुरा मानसिक कारणले नभइ गलत आहारबिहारका कारण पेटको समस्या देखा परेको छ भने पनि त्यसले मानसिक समस्याहरु जस्तै बैचनी, चिन्ता तथा चिडचिडापन पैदा गर्न सक्दछ ।

स्वस्थ सेकेण्ड ब्रेन :

मानिसको स्वास्थ्यमा सेकेण्ड ब्रेनको महत्वपूर्ण भूमिका रहन्छ । सेकेण्ड ब्रेन स्वस्थ छ भने पाचनप्रणाली स्वस्थ रहन्छ । पाचन प्रणाली स्वस्थ भएको खण्डमा पुरा शरीर नै स्वस्थ रहन्छ ।

सेकेण्ड  ब्रेनलाई स्वस्थ र मजबुत बनाउन उचित आहारबिहारको आवश्यक पर्छ । खाली पेट चियाकफी पिउनाले धेरै मानिसहरुलाई पेटको समस्या देखा पर्छ ।

त्यसैले बिहान उठ्ने बित्तिकै खाली पेट चिया होइन कि एक दुई गिलास पानी पिउनुपर्छ । पानी एसिडलाई साम्य पार्ने एक महत्वपूर्ण पदार्थ हो । त्यसैले दिनभरिमा २ लिटर पानी पिउने बानी बसाल्नुपर्छ ।

नरिवल पानी तथा एलोबेरा (घृतकुमारी)को जुस पनि एसिडिटी जस्ता पेटका लागि निकै उत्तम मानिन्छ । पेटको समस्याबाट छुटकारा पाउन चियाकफी छोडनुपर्छ । जानकारीका लागि यहाँ सेकेण्ड  ब्रेनका लागि सेवन गर्न नहुने (अपथ्य) र सेवन गर्न हुने (पथ्य) पदार्थहरु उल्लेख गरिएको छ ।

अपथ्य (सेवन अयोग्य) :

बेसन तथ मैदाका परिकार, कचौडीपकौडी, जेरीपुरी, हलुवा, समसा, पिज्जा, बर्गर, डोसा, इडली, चियाकफी, कोल्डड्रिंक्स, मासको दाल, चना, अरहरको दाल, गर्म मसला, बैगुन, आलुगोपी, अमिलोपिरो, अचार, बढी चिल्लो, पिरो र मसालेदार परिकार, दही, धूमपान, मद्यपान, निकै तातो र बासी पदार्थ बढी अयोग्य छन् ।

बेठीक समयको खाना पनि राम्रो होइन । हतार हतारमा राम्रोसँग नचबाइकन खाना खाने र खानासँग पानी खाने बानी राम्रो होइन । जङ्क फुड, फास्ट फुड पनि राम्रो खानामा पर्दैनन् ।

मानसिक तनाव, क्रोध तथा शोक पनि राम्रो होइन । आलस्य र अनावश्यक कामको बोझले मानिसलाई बिरामी बनाउँछ । समाजिक निस्क्रियताले त मानिसलाई सदैव हानी पुर्याउँछ ।

पथ्य (सेवन योग्य पदार्थ):

चोक्करयुक्त आटाको रोटी, रेसादार, पत्तावाला तथा हरियो सागसब्जी, लौका, परवल, फर्सी, काँक्रो, चौलाइ, पालुंगो, अकुंरति अन्न, दलिया, खिचडी, अनार, किसमिस, मुनक्का,  मुँगको दाल, गुलियो तथा चिसो पदार्थ, पेठा, अमला तथा स्याउको मुरब्बा पनि निकै योग्य खाद्य पदार्थ हो ।

शुद्ध र ताजा भोजन अति उत्तम भोजन हो । ठीक समयको खाना आफैमा अमृत हो । आरामले खानालाई राम्रोसँग चबाएर खाने बानी बसाउनु पर्छ ।

योसँगै विश्राम र सकारात्मक सोच जरुरी छ । प्रेमपूर्ण जीवन व्यतित गर्नु सबैभन्दा उत्तम जीवन व्यतित गर्नु हो । बिहानको हिँडाइ सबैभन्दा राम्रो हुन्छ । योग, ध्यान तथा व्यायाम मानव जीवनका अति आवश्यक कुरा हुन् । खेलकूद आफैमा श्रेष्ठ व्यायाम हो । सामाजिक सक्रियताले मानिसलाई बूढो हुने चिन्ताबाट जोगाउँछ ।

प्राकृतिक चिकित्सा र योग :

सेकेण्ड  ब्रेनलाई स्वस्थ राख्न प्राकृतिक चिकित्सा तथा योग आसनहरुको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक चिकित्सामा पेटका लागि कुन्जर क्रिया अति नै महत्वपूर्ण मानिन्छ ।

कुन्जरक्रियाले आमाशयमा जम्मा भएको अम्ल, पित्त तथा विषाक्त पदार्थहरु बाहिर फयाँक्न सहयोग गर्छ । यसैगरी कपालभाती प्राणायाम तथा बज्रासन, पवनमुक्तासन तथा भुजांगासन  जस्ता आसनहरु सेकेण्ड ब्रेनको स्वास्थ्यमा निकै लाभकारी मानिन्छन् ।

त्यसैले कुन्जरक्रियाद्वारा पेट सफा गर्ने, योगासनहरु गर्ने तथा उचित आहारबिहार पालना गर्ने हो भने सेकेण्ड बे्रन स्वस्थ रहन्छ, जसले गर्दा प्रचानप्रणालीका समस्याहरुबाट मात्र होइन, मानसिक समस्याबाट समेत मुक्ति मिल्न सक्दछ ।

उपचारमा मनोविज्ञान :

मानिसमा लाग्ने रोगहरु साधारणतया दुई किसिमका छन्, एक शारीरिक रोग र अर्को मानसिक रोग । तर रोग लागेका अधिकांश मानिसहरु जतिसुकै राम्रा औषधि सेवन गर्दा पनि रोगबाट पूर्णरुपमा छुटकारा प्राप्त गर्न सकिरहेका हुँदैन ।

औषधि सेवन गर्दासम्म उनीहरुलाई लाभ हुन्छ, अनि फेरि जस्ताको तस्तै । यसको मूल कारण रोगको मनोवैज्ञानिक पक्षलाई नजरअन्दाज गर्नु हो ।

पेटका रोग बढाउनमा मनोवैज्ञानिक कारणको निकै ठूलो भूमिका रहन्छ । त्यो किनभने पेटको समस्या केवल पेटसँग मात्र सम्बन्धित नभएर मनमस्तिष्कसँग पनि सम्बन्धित हन्छ ।

जस्तो कि एसिडिटी मानसिक चिन्ता र तनावले पनि पैदा हुन्छ । ठीक समयमा खाना नखाने तथा उचित भोजन तथा शारीरिक व्यायाम आदि नर्गनाले पनि उत्पन्न हुन्छ ।

यहाँ हेक्का राख्नु पर्ने कुरा के हो भने ठीक समयमा पथ्य भोजन नगर्ने, व्यायाम आदि गर्न आलस्य गर्ने कुरा सिधै मनमस्तिष्कसँग सम्बन्धित हुन्छ ।

त्यसैले मनोवैज्ञानिक पक्षलाई सम्बोधन नगरिकन पेटका रोगहरुबाट छुटकारा प्राप्त गर्न सकिदैन । त्यसैगरी कतिपय मानसिहरु औषधि खाँदा खाँदा पनि मानसिक रोगहरुबाट ठीक भएका हुँदैनन् ।

यसको कारण सेकेण्ड ब्रेन हुन सक्दछ । त्यसैले चिकित्सकले रोगको उचार गर्दा मन र शरीरलाई ध्यान दिनुपर्छ । बिग ब्रेन र सेकेण्ड ब्रेन दुबैलाई ख्याल गर्नु पर्छ । वास्तवमा उपचार होलिस्टिक हुनुपर्छ ।

अन्तमा :

अतः सेकेण्ड ब्रेन स्वस्थ भए पाचन प्रणाली स्वस्थ रहन्छ । तब खाएपिएको पदार्थ राम्रोसँग पच्छ, शरीरमा लाग्छ, मानिस शारीरिक रुपमा मात्र होइन सम्पूर्ण रुपमा स्वस्थ हुन्छ । त्यसैले सेकेण्ड बे्रनको महत्वलाई बुझौं र स्वस्थ जीवन बाँचौं ।

(लेखक मनोविद् हुन् ।)