• मंसिर १२ २०८१, बुधबार

फर्केर हेर्दा यो वर्षको दसैं

कार्तिक ८ २०७८, सोमबार

अनुशा थापा ।

हामी नेपालीको महान चाड दसैंं बिदा भैसकेको छ । दसैं आउँदा सबैतिर छाएको खुशीयाली व्यवहारमा पीडामय बन्यो । मौसमले पनि दसैं आएको अनुभूति सबै गर्न दिएन । बाढीपहिरोले राझम डुबाइदियो । दसैं सँगसँगै आएको उमंग निरस बन्न गयो ।

वास्तवमा दसैंं सबैका लागि हो । यो धार्मिकभन्दा पनि सांस्कृतिक पर्व हो । सबैले मनाउने चाड हो यो । तर पैसा हुनेलाई मात्र दसैंंको रौनक आएको देखियो । यही थियो दसैंको यथार्थता ।

आर्थिक मनोदशा :

आर्थिक स्थिति कमजोर भएकाहरुको दिनचर्या उस्तै छ । दसैंंको मतलब पनि थिएन र रामरमाइलो पनि । समस्या सदाको झैं दुईछाक टार्नेकै रह्यो । राम्रो र मीठो होइन कि पेट भर्नेकै रह्यो ।

आफ्नो दश नङ्ग्रा खियाउन काम पाइन्छ कि पाइदैन, गरीबका लागि यही चिन्ता नै साधना बन्यो । उनीहरुलाई न कुनै चाडआएको अनुभूत हुन गयो न त केही नयाँ भएको वा रमाएको नै ।

गरिबीको पाहुर :

नेपालमा धनी नै भनेर पनि त्यति धेरै मान्छे त छैनन् । अधिकांश गरिबीको रेखामुनि छन् । गरिबीकै रेखामुनि आफ्नो जीवनयापन गरिरहेका छन् । तिनको गुजारा गरिबीकै रेखामुनि चलिरहेको छ ।

जो मान्छे निरन्तर लामो समयदेखि गरिबीको रेखामुनि रहेर आफ्नो गुजारा चलाइरहेको छ, उसलाई चाडपर्वले झनै तडपाउने र तर्साउने गरिरहेको हुन्छ । पर्व आउनु भनेको उसका लागि थप ऋणको भारी बोकाउनु हो । त्यस्ता मानिस अहिले झनै गरिब भएका छन् । उता अर्को कारण पनि छ । त्यो हो, कोरोनाले बेरोजगार बनेका सर्वसाधारण ! अर्को दिनैपिच्छेको बढ्दो महङ्गी । यी परिस्थितिले गर्दा भोकभोकै मर्नुपर्ने दिन आए सर्वसाधरणका लागि ।

गरीब र धनीलाई फरक दसैं :

तर गरिब र धनीलाई आउने दसैंं त एउटै हो । दसैंं भनेको वर्षको एकचोटि आउने चाड हो । अहिलेको बजार पनि भाउ पनि हेर्दा त गरिब र धनीका लागि बराबर राखिएको छ । तर आर्थिक स्थिति कमजोर भएका कारण गरिबका लागि त्यो विभेदपूर्ण छ ।

आफ्नो दश नङ्ग्रा खियाएको छ । उसले पनि दिनरात नभनी मेहनत गरेको छ । त्यही पनि यत्रो भेदभाव किन ? सरकारदेखि व्यापारीहरुले समेत अफिस गएर र ज्याला मजदुरी गरेर ल्याउनेलाई भेदभाव गरेको छ ।

व्यापारीको बोलवाला :

ज्याला मजदुरी गर्नेलाई व्यापारीले हेर्ने दृष्टिकोण कस्तो छ ? चोरलाई हकारेको वा चोरेर ल्याएको भन्दा पनि रुखो बोलीबचन गर्दछन् । तर त्यही सामान किन्न कुनै जागीरे आइपुग्यो भने उसलाई गर्ने व्यवहार नै छुट्टै छ । आखिर सबैले तिर्ने त पैसा नै हो । ज्याला मजदुरी गर्नेले सित्तैमा मागेको त होइन नि ।

अझै व्यापारीले सकेसम्म गरिबलाई ठग्न खोज्छ । किनकि ऊ सिधा छ । उसलाई पढ्न आउदैन । यसको फाइदा लिने नै व्यापारी हुन् । आवाज उठाउन सक्ने त व्यापारीका दाजुभाइ, इष्टमित्रमा परिहाल्छन् । त्यसैले व्यापारीले गरिबहरुसंग सक्दो रकम असुल्न खोज्छन् ।

गरीबलाई सधैं के खाऊँ के लाऊँ :

गरिबहरुलाई दसैंं आयो, के खाँउला, के पिँउला, छोराछोरीले के किनिदिउँला भन्ने चिन्ताले पिरोलिरहेको हुन्छ । ज्याला मजदुरी गर्नेले त सरसापटी पनि पाउँदैन । गरिबहरु पनि मान्छे हुन्, तर सरकारले नै उनीहरुलाई गनेको छैन ।

गरिबहरुले जहिले पनि सोध्ने एउटै प्रश्न हो, ‘के सरकार पनि छ र ?’ नसोधून् पनि किन । आजसम्म सरकारबाट उनीहरुले के नै पाएका छन् र ! गरिबहरुले गर्दा यत्रो देश विकास भयो । तैपनि सरकारले नदेखे झै गर्यो । पढेलेखेको जति जम्मै अन्त्यैतिर हुइँकिहाले ।

गरिबी सम्बोधन गर्दैन सरकार :

गरीबले देश विकास गर्न यत्रो योगदान गरे । उनीहरुको लागि सरकारले केही गर्न नसक्नु सरकारको लाचारीपन हो । गरिब जनताले पनि नेपाल सरकारलाई कर तिरेका छन् । त्यही गरिब जनताले तिरेको करबाट देशको प्रधानमन्त्रीदेखि राष्ट्रपतिले मोजमस्ती गरेका छन् ।

अरुको कुरै छाडिदिऔं । गरिब जनताले तिरेको करबाट सरकारको हरेक निकायमा बस्नेले समेत त्यही गरिबको दुःखपसिनाले तिरेको करबाट मोजमस्ती गरेको छन् । तर गरिब जनतालाई दिनुपर्ने सेवासुविधाबाट राज्य किन चुक्यो त ? दसैंंको नाममा नेपाल सरकार र व्यापारीहरुले हामी गरिब जनताहरुलाई दशा निम्त्याइदिएका छन् ।

आखिर को हुन् देशका नागरिक ? :

के धनी मात्र देशका नागरिक हुन् । सरकारको नै यस्तो सोचाइ छ भने पहिला आफ्नो इतिहास पल्टाऔं । आफु कहाँ र कुन परिस्थितिबाट आएका थियौ, त्यो हेर । बाटोबाटो हिँडेर आफ्नो देशको जनताको स्थिति हेर । अनि मात्र तिमीहरुलाई गरिबीको अर्थ थाह हुन्छ ।

तिम्रा देशका जनताहरु आफ्नो पेट भर्नका लागि कतिसम्म संघर्ष गरिरहेका छन् । महङ्गी कहाँबाट कहाँ पुगिसक्यो थाह पाउँछौ । जनताले तिरेको करबाट करौडौंको गाडी चढेर मात्र देशको राष्ट्रपति र प्रधानमन्त्री होइदैन ।

सरकारी आश्वासन र कर्मचारी अनुगमन :

त्यत्रा कर्मचारीलाई अनुगमन गर्न पनि तलब दिएका छैनन् । खोइ त कहिले पनि बजार अनुगमन गर्न निस्किएको देखिएन । एक साता अघि र पछिको सामानको भाउ हेर्ने हो भने आश्चर्य लाग्छ । प्रत्येक साता एउटा सामानमा पचास रुपिँयासम्म बढेको छ ।

अनि कसरी खाने ? पैसा रुखमा फल्छ र ? यो एउटा जिल्लामा बसोबास गर्ने जनताको मात्र समस्या होइन । देशैभरिको जनताले महङ्गीको सामना गर्नुपरेको छ । अनुगमन गर्ने कर्मचारी र राजनीतिक दल सबै व्यापारीले किनिसकेको छन् ।

साँझ बिहानको छाक टार्नमै व्यस्त जनता :

त्यसैले पनि नेपालको विकास होला भनेर नसोच्दा पनि हुन्छ । यस्तै हो भने अब केही वर्षपछि व्यवसायीले नै देश चलाउँछन् । हरेक सामानको मूल्यवृद्धि गरेरै भए पनि ।

चामल, दाल, माछामासु, दुग्धजन्य पदार्थ, चाउचाउ, तेल, गेडागुडी, चिनी, बिस्कुट, चकलेट यी सबै खाद्य सामग्री छोइनसक्नु भएको छ । हरियो तरकारीको भाउ पनि निकै महङ्गिएको छ । बिचौलियाको कारण पनि तरकारीको भाउ आकाशिएको हो ।

किसान त हिजो पनि उचित मूल्य पाउन सकेका थिएनन् । आज पनि पाएका छैनन् । कमाउने भनेकै बीचमा बसेका बिचौलियाले हो । सरकारले माछामासुको मूल्य निर्धारण गरेको छ । तर निर्धारित मूल्यमा जनताले माछामासु उपभोग गर्न पाएका छैनन् ।

मनलाग्दी आकाशिएको महङ्गी :

मूल्य निर्धारण गर्ने तर अनुगमन नगर्ने, अचम्मको शासन प्रशासन ! यो त व्यापारीलाई जनता ठग भनेर हौसला दिएजस्तो भएको छ । लत्ताकपडाको पनि त्यस्तै छ । दसैंं त जनतालाई होइन् व्यापारीलाई मात्र लाग्यो । एउटा साधारण कपडा किनेर लाउन नसक्ने स्थिति आइसकेको छ ।

सरकार पनि कान कोट्याएर बसेको छ । जनता महङ्गीमै डुबेर मर्नुपर्ने भएको छ । कतिपयको घरमा चुल्हो बल्न छोडिसकेको छ । जुन महङ्गी र गरिबी हामीले देखिरहेको छौं । सरकारले किन देखिरहेको छैन ? हामी कसरी बाँच्ने, कसरी चाडबाड मनाउने ?

भाउ–लिस्टमा एउटा, लेनदेनमा अर्कै :

सरकारको कमीकमजोरीको कारण हामी भोकभोकै बस्नुपर्ने भएको छ । दसैंं मनाउन चाहिने सबै सामान महङ्गिएको छ । मरमसलादखि लिएर माछामासु सम्मको भाउ निरन्तर उकालो लागिरहेको छ । तेलको सट्टा पानी हालेर तरकारी पकाउनु पर्ने दिन आएको छ ।

पmलफुल, हरियो तरकारीदेखि रासनपानीको अचाक्ली मूल्यवृद्धि भएको छ । माछामासु काट्ने ठाउँ पनि त्यस्तै फोहोर छ । तीबाट रोग लाग्न सक्ने हो के भन्ने चिन्ता छुटटै छ । बिरामी भइयो भने अस्पतालको शुल्क तिरिसक्नु छैन । औषधिदेखि लिएर चेकअप फिसमा अस्पतालको मनोमानी छ ।

व्यवसायीमैत्री सरकार :

दसैंंको मुखमा आएर सरकारले व्यवसायीको हितमा रहेर अर्को पनि काम गरेको थियो । यसबाट करौडौं जनता सिधै मारमा परेका छन् । लामो र छोटो रुटमा चल्ने सवारी साधनको सवारी भाडा बढाइदिएको छ । सरकारले जहिले पनि व्यवसायीको हितमा रहेर काम गरेको छ भन्ने कुरा पृष्टि गर्न हरेक जनतालाई सजिलो भइसकेको छ ।

यो वर्षको दसैंं जनतालाई पोहोरको दसैंभन्दा पाँच सय गुणा महङ्गो परेको छ । जसले अनुगमन गरेर कारबाही गर्ने आँट गर्दैन त्यस्ताले भाउ बढाउने आँट गर्न पनि उचित नहोला । जहिले पनि व्यापारीसँग मिलेर जनताको ढाड सेक्ने काम पनि राम्रो होइन ।

जनता सडकमा धकेल्दै सरकार :

सरकार जहिले पनि जनतालाई थिचोमिचो गर्ने काम नगर । अहिलेसम्म नेपाली जनता चूप लागेर बसेका छन् कुन दिन जनसागर उर्लन्छ सडकमा । उर्लेको जनसागरलाई सरकारले समेट्न गाह्रो पर्ने देखिन्छ । शायद नसक्ला पनि । यसबारे पहिल्यै सोचविचार गरोस्, सरकारले ।

(भक्तपुरबाट)