गायक राजु परियारलाई लोक स्वर सम्राट घोषणा गरिएको छ । आज पोखरामा भएको सम्मान कार्यक्रमबाट परियारलाई लोक स्वर सम्राट घोषणा गरिएको हो । झन्डै १५ हजार बढी गीतमा आवाज दिएका परियारले लामो समयपछि दर्शकले खोजेको पदकबाट सम्मानित भए । उनी पोखरामा भएको गण्डकी राष्ट्रिय म्यूजिक अवार्डबाट सम्मानित भएका हुन् ।
आफूलाई उक्त पदक दिएकोमा खुशी व्यक्त गर्दै परियारले भने “समय आउन पर्ने रहेछ हरेक कुरामा बल्ल यो पदकमा पनि योग्य महसुस गरेर आफ्नै क्षेत्रबाट सम्मान गरिँदा खुशी लागेको छ ।’
दोहोरीमा पछिल्लो समय उनले आवाज दिएका अधिकांश गीत तथा लाइभ दोहोरीहरु चर्चामा छन् । परियारलाई बधाई व्यक्त गर्दै वरिष्ठ लोक गायिका हरिदेवी कोइरालाले भनिन् ‘राजु परियारको आवाज नै काफी छ, उनले गाएका गीतकै आधारमा दिइएको यो पदक उनको लागि योग्य रहेको छ । राजुलाई लमजुङको हावापानीले कलाकार बनाएको हो । उनले अझै अगाडी नै यो सम्मान पाउने पर्ने हो ।’
यता राजु परियारले पनि आफूले सधै पुज्ने गायिकामा हरिदेवी रहेको बताए । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालको हातबाट उनले सम्मान हात पारेका हुन् ।