• मंसिर १३ २०८१, बिहीबार

कोटा तोकेर लाइसेन्सको आवेदन खुलाउने तयारी

कार्तिक २ २०७८, मंगलवार

काठमाडौं । यातायात व्यवस्था विभागले नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को कोटा तोकेर लाइसेन्सको आवेदन खुलाउने तयारी गरेको छ ।

कोरोना भाइरस माहामारीका कारण गत वैशाख १६ गतेदेखि बन्द रहेको लाइसेन्स आवेदन प्रणाली करिब ६ महिनापछि आगामी एक सातापछि खोल्न तयारी भइरहेको जनाउदै विभागले कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाउने जनाएको छ ।

प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार आवेदन प्रणाली खोल्न अहिले प्राविधिक तयारी भइरहेको छ । कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा छन् भने लाइसेन्स लिन आवेदन दिएर प्रक्रियामा प्रवेश गरेकाहरु पनि अन्योलमा छन् । प्रवक्ता भुसालका अनुसार अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिइनेछ ।

यसअघि आवेदन दिएकाहरुलाई भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा लिन शुरु गरिएको थियो । प्रवक्ता भुसालका अनुसार अहिले परीक्षामा सहभागी हुन आवेदन दिएका करिब ५ लाख जनाले चालकको परीक्षाको मिति कुरिरहेका छन् ।