• मंसिर १३ २०८१, बिहीबार

महाकालीमा पानीको बहाव अहिलेसम्मकै उच्च, तटीय क्षेत्रका बस्ती डुबानमा

कार्तिक २ २०७८, मंगलवार

कञ्चनपुर । आइतबार बेलुकादेखि परेको पानीका कारण महाकाली नदीमा बाढी आउँदा तटीय क्षेत्र डुवानमा परेको छ ।

महाकाली नदीमा पानीको बहाव २०७० सालयताकै सबैभन्दा बढी चार लाख ६१ हजार ७२८ क्यूसेक नाघेपछि कञ्चनपुरस्थित तटीय क्षेत्रका सबै बस्ती डुवानमा परेका हुन् ।

भीमदत्त नगरपालिकाको खल्लामछेट्टीदेखि झोलुंगेसम्म र दोधारा चाँदनी नगरपालिकाको महाकाली किनारका सबै बस्तीहरुमा बाढी पसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

उनका अनुसार डुवान तथा जोखिममा रहेका परिवारको रातीदेखि नै उद्धारको काम भइरहेको छ । तर हालसम्म कति परिवार विस्थापित भए भन्ने यकीन तथ्यांक भने नभएको बताइएको छ ।

यस्तै महाकाली नदीको बाढीले निमार्णाधिन चारलेन पक्की पुलको पहुँच मार्ग र पिचसमेत कटान गरेको छ ।

अन्य नदीहरुमा पनि पानीको सतह बढ्दै गएपनि हालसम्म डुवानमा भने नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।