काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले संसद् सुचारू गराउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफलका लागि आफू तयार रहेको बताएका छन् । सभामुख सापकोटाले संसद् चलाउन संवादको विकल्प नभएकाले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताएका हुन्। बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए ।
सभामुख सापकोटाले भने, ‘म अझै के भन्छु भने पहिला हाम्रो संवाद भइरहेको थियो, अहिले विवाद भइरहेको छ । अन्तिममा फेरि संवादको विकल्प छैन । ढिलोचाँडो संवादमा उहाँहरू आउनुहुन्छ । हामी सबैले समीक्षा गरौँ र सकारात्मक सोचका साथ संवाद थालौँ । जतिसुकै ठूलो समस्या भएपनि संवादको विकल्प छैन । हाम्रो संसद्मा अहिले अलिकति समस्याहरू देखिएको छ । अवरुद्ध भइरहेको छ । १५ दिनको समय पनि छ, कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु ।’
सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने बताए ।
उनले संसद् सुचारू रूपमा चलाउनका लागि नेकपा एमालेसँग संवाद गर्न आफूले सकेसम्म पहल गर्ने बताउँदै संसद् पुनःस्थापना गर्न लागिपरे जस्तै संसद सुचारू रूपमा चलाउन संसदहरूले पहल गर्नुपर्ने बताए । उनले संसद्लाई जीवन्त र जनमुखी बनाउन आफू पनि गुणात्मक ढंगले लागि पर्ने बताए
उनले भने, ‘राजनीतिमा आग्रह, पूर्वाग्रह, हुन्छ, प्रतिशोध सोच्न पनि सकिँदैन, यी सबै आग्रह पूर्वाग्रह मेटिँदै जानेछन्, सकारात्मक सोचको विकास हुनेछ । अझ निष्कर्षमा पुग्नका लागि सबै औपचारिक, अनौपचारिक, ट्रयाक वान, टू, सबै उपायहरू अवलम्बन गर्नका लागि मैले सकेजति मिहिनेत गर्नेछु । पार्टी, पार्टीका नेता, अझ सांसदहरूमा त्यसलाई प्रभावकारी बनाउनका लागि चाहे अध्ययन, चाहे छलफल वा संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनका लागि असाधारण खालको मिहिनेतको जरुरत हुन्थ्यो नि, संसदलाई जीवन्त र प्रभावकारी बनाउनुको विकल्प छैन ।’
सभामुख सापकोटाले संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै संचारमाध्यमहरूमा आएको कुरा सही नभएको बताए ।
संसद् लोकतन्त्रको आत्मा भएकाले सभामुख र सांसदहरूको भूमिका बढाउन आवश्यक रहेको बताउँदै सभामुख सापकोटाले प्रवचन र प्रशिक्षणको विषय मात्र बनाइएको बताए ।
उनले लोकतन्त्र संघीय संसद्मा कमै मात्र प्रयोग भएको पनि बताए । आगामी कार्तिक ९ गते बस्ने प्रतिनिधि सभाको बैठक सुचारू रूपले चल्नेमा आफू आशावादी रहेको पनि बताए ।