• मंसिर १३ २०८१, बिहीबार

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव पेश

आश्विन २४ २०७८, आईतवार

काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेकी छन् ।

मुख्यमन्त्री शाक्यले प्रस्ताव पेश गरे पनि सो विषयमा छलफल र मतदान नगरी कार्तिक ४ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन शुक्रबार प्रदेशसभा सचिवालयमा दर्ता गरेकी थिइन् । अब विश्वासको मतमाथि दशैंपछि मात्र छलफल हुने भएको छ ।

आइतबार साँझ बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव सदनमा प्रस्तुत गरेकी हुन् ।

उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार तथा बागमती प्रदेशसभा नियमावलीको धारा १४३ को १ अनुसार विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसदमा पेश गरेकी हुन् । मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागि दलले समर्थन फिता लिएका मुख्यमन्त्रीले संसदबाट ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

मुख्यमन्त्री शाक्यले संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै निर्वाचन आयोगको गत भदौ २५ गतेको निर्णय अनुसार नेकपा एमाले विभाजन पछि १३ जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेकाले आफूले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रस्तुत गरेको बताइन् ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रस्तुत गरेसँगै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक आगामी कात्तिक ४ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् ।