• मंसिर १३ २०८१, बिहीबार

डाक्टरको लापरवाहीले बालिकाको ज्यान गएको भन्दै पीडित पक्ष आन्दोलित

आश्विन २३ २०७८, शनिबार

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतका डाक्टरहरुको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् । बालिका मृत्यु भएको विषयमा उचित छानविनको माग गर्दै पीडित पक्षले आन्दोलन गरेको हो ।

दैलेखको नारायण नगरपालिका–४ की पूजा कटुवालकी साढे २ वर्षकी छोरी कुसुम कटुवालको गएराती प्रदेश अस्पतालमा मृत्यु भएको थियो । खासै समस्या नभएकी उनको एक्कासी कसरी मृत्यु भयो पीडित परिवारले प्रश्न गर्दै घटनाको उचित छानविन हुनुपर्ने माग गरेका छन् ।

पीडित पक्षले ओभर डोज औषधिका कारण बालिकाको मृत्यु भएको दावी गरेको छ । बालिकाकी आमा पूजाका अनुसार कुसुमको चार दिन अगाडि नाकमा मकैको दाना अड्केको थियो । अलिकति श्वास फेर्न गाह्रो बाहेक अन्य कुनै समस्या थिएन,’ उनले भनिन्, ‘पछि समस्या आउँछ कि भनेर दैलेख अस्पताल ल्याएका थियौं । जिल्ला अस्पताल दैलेखका स्वास्थ्यकर्मीले प्रदेश अस्पतालमा सहज उपचार हुने भनेर लैजान सल्लाह दिएपछि हामीले यहाँ ल्याएका थियौं ।’

शुक्रबार बिहानै प्रदेश अस्पतालका एक डाक्टरले बालिकाको स्वास्थ्यावस्था चेकजाँच गरेका थिए । ती डाक्टरले श्वास नलीमा समस्या आएको र प्रदेश अस्पतालमा आइसीयु खाली नभएको भन्दै शिक्षण अस्पताल लैजान सुझाएका थिए ।

उनी भन्छिन्, ‘ती डाक्टरले हामीलाई त्यत्ति मात्र भनेनन् बेड खाली भए यतै राखौँला भनेर समेत भनेका थिए । सोही आशामा हामीले यतै राख्यौं । तर, एक्कासी राती १० बजे डाक्टरहरुले मृत्यु भएको जानकारी गराए ।’ उनले अचम्म मान्दै प्रश्न गरिन्, ‘स्वास्थ्यमा कुनै समस्या नै नभएकी मेरी छोरीको कसरी मृत्यु भयो ? यो स्वास्थ्यकर्मीहरुको चरम लापरबाही हो ।’

यता प्रदेश अस्पतालका प्रवक्ता डाक्टर विकास केसीले श्वासप्रश्वासका कारण बालिकाको मृत्यु भएको बताए । अस्पतालबाट लापरबाही र हेलचेक्र्याई कुनै भएको छैन,’ उनले भने, ‘उहाँहरुले आरोप लगाउने न हो । बिहान दुबै पक्षबीच छलफल भएको हो । अब उहाँहरुलाई चित्त बुझ्दैन भने प्रशासन मै जानुहुन्छ ।’