• मंसिर १३ २०८१, बिहीबार

५ दलीय गठबन्धन चुनावसम्म रहन्छ : मन्त्री खतिवडा

आश्विन २३ २०७८, शनिबार

कास्की । स्वास्थ्य तथा तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले अहिलेको पाँच दलको गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राखिने बताएका छन् । नेकपा (एस) कास्कीले विजयादशमी, दीपावलीलगायतका चाडपर्वका अवसरमा आज पोखराको सभागृहमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

खतिवडाले नेकपा एमाले र सो पार्टीका अध्यक्ष केपी ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे ।

वर्तमान सरकारलाई परमादेशको सरकार भन्नुको कुनै अर्थ नरहेको भन्दै उनले निवर्तमान प्रधानमन्त्री केपी ओली जसरी सांसदको हस्ताक्षरबाट प्रधानमन्त्री नियुक्त भएका र अहिलेका प्रधानमन्त्री पनि सोहीअनुसार नियुक्त भएको स्पष्ट पारे ।

मन्त्री खतिवडाले भने, ‘अहिलेको सरकार परमादेशको सरकार होइन, संविधान बमोजिम राष्ट्रपतिकामा बहुमत सांसद गएका हौँ । केपी ओली बन्दा जसरी सांसदको दस्तखत गरेर सरकार बनेको हो, अहिले पनि त्यही सांसदका दस्तखतबाट सरकार निर्माण भएको छ ।’

स्वास्थ्यमन्त्री खतिवडाले गण्डकी प्रदेशमा सङ्घीय सरकार मातहतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मात्र रहेकाले सो अस्पतालको सेवा थप प्रभावकारी बनाउनका लागि सबैसँग छलफल गरेर सुझावका आधारमा आफूले काम गर्ने बताए ।

पार्टीका गण्डकी प्रदेश इञ्चार्ज केशवलाल श्रेष्ठले पार्टीको पछिल्लो बैठकले लिएका नीति, कार्यक्रम तथा कार्ययोजनालाई तल्लो तहसम्म लैजान कार्यकर्तालाई आग्रह गरे । जिल्ला अध्यक्ष धनराज आचार्यले जिल्लाका ७२ वटै वडामा पार्टी कमिटी निर्माणको काम अघि बढिरहेको जानकारी दिए ।