• मंसिर १२ २०८१, बुधबार

नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्रीले दिए यस्तो कडा निर्देशन

आश्विन २२ २०७८, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त मन्त्रीहरुलाई जनअपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको देउवाको नेतृत्वमा २२ जना मन्त्रिपरिषद् सदस्यहरु सम्मिलित पहिलो पूर्ण मन्त्रिपरिषद् बैठकमा नवनियुक्त १६ मन्त्रीहरु र यसअघि मन्त्री भएका ६ जनासहित २२ जनाले उपस्थित जनाएका थिए ।

शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएपछि मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिएका छन् ।

मन्त्रिमण्डलको विस्तारपछि आज बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश, जनताको आवश्यकताअनुसार उत्साह र इमान्दार भएर जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।

मन्त्रिपरिषद्ले पूर्णता पाएपछि आज पहिलो पटक मन्त्रिपरिषद्को पूर्ण बैठक बसेको हो । उनले देश, जनताको चाहनाअनुसार इमान्दार भएर काम गर्न निर्देशन दिनुभएको नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मनत्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले आजैदेखि लागू हुने गरी सरकारको प्रवक्ताको समेत जिम्मेवारी मन्त्री कार्कीलाई नै दिएको छ । यसअघि पनि उनी नै सरकारको प्रवक्ता थिए ।

बैठकमा प्रधानमन्त्रीले नवनियुक्त मन्त्रीहरूका कार्यकालको पूर्ण सफलताको कामनासमेत गरेका थिए ।