• मंसिर १२ २०८१, बुधबार

राजमार्गमै भिड्न थाले बाघ र चितुवा, यात्रुलाई सास्ती

आश्विन २२ २०७८, शुक्रबार

काठमाडौँ । तराईमा अवस्थित पूर्वपश्चिम राजमार्गमा बाघ र चितुवाको समूह नै हिंड्न थालेपछि यात्रुहरुमा सास्ती बढेको छ । राजमार्गको दाङ र बाँके क्षेत्रमा यसरी बाघ र चितुवाको आंतक देखा परेको डिभिजन वन कार्यालय लमहीले बताएको छ ।

बाँकेको गाभर लगायतका क्षेत्रमा बाघले मान्छे खाएदेखि नै गाभर कुसुम र दाङ र बाँकेको सिमाना क्षेत्र अमेलिया–रिहार सडकखण्डमा बाघ र चितुवाको समूह देखा पर्ने गरेको छ । बाघ र चितुवाको समूह नै सडकमा हिंड्न थालेपछि डिभिजन वन कार्यालय लमहीले सावधानी अपनाउन आव्हान गरेको छ ।

‘लमही नगरपालिका वडा नम्बर ९ रिहार देखि ६/७ किलोमिटर पूर्वपश्चिम राजमार्ग अमिलिया तर्फ आइतबार बेलुकी ८ः३० बजेको समयमा ठूलो संख्यामा बाघको समूह देखिएकाले उक्त क्षेत्रमा मोटरसाइकल, पैदलमार्ग, र खुला सवारी साधनबाट आवतजावत गर्दा विशेष सावधानी अपनाउन अनुरोध गर्छौं, वन कार्यालयले भनेको छ ।

गत आइतबार राती दाङको लमही नगरपालिका वडा नम्बर ९ हर्दवामा राजमार्गमै बाघ र चितुवाको समूह देखिएको सो वन कार्यालयले जनाएको छ । यसरी देखा परेर कहिलेकसो बाघ र चितुवाको भिडन्त समेत हुने गरेको जानकारहरु बताउँछन् ।

सडकमा यस्तो अवस्था हुँदा वन कार्यालयले सर्वसाधारणलाई दाङको रिहार क्षेत्रदेखि बाँकेको शिवखोला र कुसुम क्षेत्रमा पैदल यात्रु, दुईपांग्रे यातायातका साधनहरुमा यात्रा गर्ने यात्रु र खुला सवारीका साधनमा यात्रा गर्ने यात्रुहरुलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो । दुई पांग्रेका साथै खुला यातायातका साधनहरुमा यात्रा गर्नेहरुलाई एक्लै त्यो क्षेत्रमा यात्रा नगर्न वन कार्यालयले सर्वसाधारणलाई अनुरोध गरेको  छ।