काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, प्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रेल्वे विधेयक, २०७६ फिर्ता लिन राष्ट्रियसभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।