• फाल्गुन २४ २०८२, आईतवार

ओली सबै हिसाबले कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्युत भइसके : माधव नेपाल

आश्विन २१ २०७८, बिहीबार

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबै हिसाबले कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका छन् । बिहीबार एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउन काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन्।

नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी पार्टी रोजेको नेपालको भनाइ थियो । उनले नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको टिप्पणी गर्दै नेकपा एमाले सामूहिक नभएर एक व्यक्तिको पार्टी जस्तो भएको बताए।

‘परित्याग गरेर आएको पार्टी नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको व्यहोरा पनि हामीले भर्खरै सुन्यौँ, अन्तिसम्म प्रयत्न गर्दा पनि त्यो पार्टीलाई ठीक ठाउँमा ल्याउन नसकिने भयो भन्ने निष्कर्षमा पुगेर पछिल्लो कालको तमासा विधान महाधिवेशनको नाममा भेला गरिएका मानिसहरुको जमात, त्यहाँ अघि सारिएका मान्यताहरु सबै चिजहरु देखेर भानुभक्त जोशी पार्टी परित्याग गरेर एकीकृतमा प्रवेश गर्नुभयो, नयाँ यात्रामा प्रवेश गर्नुभएको छ,’नेपालले भने ,
‘केपी ओली सबै हिसाबले कम्युनिस्ट आन्दोलन र आददर्शबाट च्युत भइसकेका छन्, च्युत भइसकेको अब औपचारिक रुपमा दिन हेर्नमात्रै बाँकी छ, त्यहाँ कुनै सामूहिक छलफल छैन, त्यो एउटा व्यक्तिको प्रा.लि.को रूपमा रुपान्तरित हुन थालेको छ ।’

जोशीलाई नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्यमा लैजाने समेत नेपालले घोषणा गरे ।