• मंसिर १२ २०८१, बुधबार

विद्यार्थी भिषामा अष्ट्रेलिया पठाईदिन्छु भनि १२ लाख ठगी गर्ने निरौला पक्राउ

आश्विन २० २०७८, बुधबार

काठमाडौँ । डिपेन्डेण्ट भिषामा अध्ययनको लागि अष्ट्रेलिया पठाइदिन्छु भनि ठगि गर्ने एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नम्बर १३ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर १० मध्यवानेश्वर बस्ने मणि निरौला रहेका छन् ।

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाका अनुसार निरौलाले म्याग्दीका सुजन खत्रीलाई अध्ययनको लागि डिपेन्डेण्ट भिषामा अष्ट्रेलियामा पठाइदिन्छु ठगि गरेको आरोप लागेको छ । निज निरौलाले आफूलाई क्वुइन्स ल्याण्ड एजुकेशन फाउण्डेशन प्रा.लि.(Queensland Education Foundation Pvt. Ltd.)को संचालक भएको बताइ म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको टोखा नगरपालिका वडा नम्बर १ बस्ने खत्रीलाइ अष्ट्रेलिया पठाइदिन्छु भनि प्रलोभनमा पारी बाह्र लाख रुपैयाँ ठगेको प्रहरीले बताएको हो ।

प्रहरीका अनुसार निरौलाले खत्रीलाइ प्रलोभनमा पारी रकम लिइ भनेको समयभित्र नपठाएको र सम्पर्क गर्दा सम्पर्कमा नआई कार्यालय समेत बन्द गरि सम्पर्क बिहीन भएको आरोप लागेको छ ।

पीडितको उजुरी भएपछि निरौलालाई खोजतलास गर्ने क्रममा प्रहरीको महानगरीय अपराध महाशाखाको विशेष समूहले हिजो मंगलबार काठमाडौँ महानगरपालिका वडा नम्बर १० नयाँवानेश्वरबाट पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा पठाइएको बताइएको छ ।