• फाल्गुन २८ २०८२, बिहीबार

दलहरूलाई मन्त्री छान्नै हम्मेहम्मे

आश्विन २० २०७८, बुधबार

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले केही दिनमै पूर्णता पाउने भएको छ । देउवाले सत्ताको बागडोर सम्हालेको झन्डै तीन महिना पुग्नै लाग्दा सरकारले पूर्णता पाउने भएको हो ।

हिजो (मंगलबार) सत्ता साझेदार दलहरूबीच सरकारलाई पूर्णता दिनेबारे छलफल भएको छ । उक्त छलफलबाट कुन दलले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगिएको छ । जसअनुसार काँग्रेसको भागमा गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालकालिका र युवा तथा खेलकुद मन्त्रालय परेको छ । नेकपा (माओवादी केन्द्र)को भागमा अर्थ, उर्जा, शिक्षा–विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण, उद्योग तथा आपूर्ति र खानेपानी मन्त्रालय परेको छ ।
त्यस्तै सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)को भागमा भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय परेको छ । नेकपा (एकीकृत समाजवादी)को भागमा पर्यटन तथा नागरिक उड्डयन, कानुन–न्याय तथा संसदीय मामिला, श्रम रोजगार तथा सामाजिक सुरक्षा र सहरी विकास मन्त्रालय परेको छ ।

दलहरूबीच मन्त्रालय बाँडफाँड टुंगो लागे पनि मन्त्रीहरूको भने अझै टुंगो नलागेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गोल खबरलाई बताए । शर्माका अनुसार, “पार्टीले मन्त्रीहरूको नाम टुंग्याउन छलफल गरिरहेको छ, काँग्रेसमा वर्तमान समयमा दुई लाइन संघर्ष चलिरहेको बेला मन्त्री छान्न आफैमा चुनौती छ, यद्यपि यो चुनौतीका बावजुत मन्त्रीहरूको नाम छिट्टै टुंग्याउने छौँ ।” त्यसैगरी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आज या भोलिसम्म मन्त्रीहरूको नाम टुंगो लगाउने जानकारी दिएका छन् । गजुरेका अनुसार, “माओवादी केन्द्रको भागमा परेका मन्त्रालयमा मन्त्रीहरू रिप्लेसका लागि नाम सिफारिस गर्न केही कठिनाइ भएपनि छिट्टै नै टुंगोमा पुर्याउने छौँ । त्यसका लागि हाम्रो स्थायी कमिटी बैठक जारी रहेको छ ।”

जनता समाजवादी पार्टीमा पनि मन्त्री छान्ने विषय पेचिलो बन्दै गएको बुझिएको छ । मन्त्रीका आकांक्षी धेरै भएकाले जसपामा विवाद उत्पन्न भएको छ । यसअघि नै जसपा अध्यक्ष उपेन्द्र यादवले आफूले भनेबमोजिम मन्त्रालय नपाए सरकारमा नजाने अडान राखेका छन् । नेता राजेन्द्र श्रेष्ठका अनुसार, “मन्त्रीहरूको नाम सिफारिस गर्ने सन्दर्भमा विगत लामो समयदेखि छलफल भैरहेको छ । तर, उक्त छलफलले हालसम्म पूर्णता पाउन भने सकेको छैन । पार्टीभित्र सामान्य विवादका कारण थप कठिनाइ भएको छ । सम्भवतः भोलिसम्म मन्त्रीहरूको नाम टुंगोमा पुयाृउँछौँ । जसका लागि काठमाडौं उपत्यकामा उपलब्ध कार्यकारिणी कमिटीका साथीहरूबीच छलफल भैरहेको छ ।”

नेकपा (एकीकृत समाजवादी)ले पनि मन्त्रीहरूको नाम टुंग्याृने ध्याउन्नमा छ । उसले पनि विगत पाँच दिनयता छलफललाई तीव्रता दिएको छ । ४ मन्त्रालय, १ राज्यमन्त्री पाएको नेकपा (एस)लाई पनि मन्त्री छान्न निकै हम्मेहम्मे परेको छ । पार्टीभित्र आकांक्षी थुप्रै भएपछि मन्त्री छान्ने मुस्किल भएको बताउँछन्, मेटमणी चौधरी ।

लामोदेखि गठबन्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेकपा (एस)लाई अर्को थप चुनौती थपिएका छ । कानुन मन्त्रालय पाएको उसले मन्त्रीका लागि कानुन व्यवसायीलाई पठाउनुपर्ने बाध्यात्मक सर्त समेत राखिएको छ । तर, यस विषयमा पार्टीभित्र चरम असन्तुष्टि रहेको एक नेताले बताए । ती नेताका अनुसार रामकुमारी झाँक्री, प्रेम आले, विरोध खतिवडा, भवानी खापुङ, जीवनराम श्रेष्ठ, मेटमणि चौधरीलगायत मध्येबाट मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।