• मंसिर १२ २०८१, बुधबार

एनआरएनएको अध्यक्ष पदमा केसीको उम्मेदवारी

आश्विन १९ २०७८, मंगलवार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा डा.बन्द्री केसीले उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत डा.केसीले एनआरएनएको १० औँ विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका डा.केसीले यसअघि गरिएका महत्वपूर्ण कामकारबाही र प्रतिबद्धतालाई कार्यान्वयन एवम् पूर्णता दिन अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए । उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘गैर आवासीय नेपाली संघको ९ औँ महाधिवेशनमा हामीले गरेको प्रतिबद्धताअनुरूप अघि सारेका संघको पुनर्संरचना, संस्थागत विकास, आर्थिक पारदर्शिता, स्मार्ट एनआरएनए लगायतका थुप्रै कार्यको जग स्थापना भैसकेको छ ।’

डा.केसी भन्छन्, ‘संघको अभियानमा देखिएका कयौँ चुनौतीका बीच एनआरएनएमा संगठित साथीहरूसँगको घनीभूत छलफल र अन्तरक्रियापछि १० औँ महाधिवेशन तथा विश्व सम्मेलनमा गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।’ ‘समृद्धि र रुपान्तरण, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ डा.केसीले मुलुकभर रहेका आमनेपालीहरूको सहयोगको अपेक्षा गर्दै प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् ।

आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत डा.केसीले आफ्नै प्यानल नै घोषणा गरेका छन् । स्मरणीय छ, एनआरएनएको विश्व सम्मेलन आसन्न कात्तिक ३ मा हुँदैछ । जसका लागि यसअघि नै अध्यक्ष पदका लागि कुल आचार्य र रविना थापाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।’