मूलतः सामाजिक परीवेशको नागरिक शक्तिलाई आफ्नो समुहतर्फ आकर्षित गर्ने क्रममा राजनीतिक समुहमा विचारको विविधता कायम रहन गएमा वैचारिक द्वन्द्व उत्पन्न हुने प्रवल सम्भावना रहन्छ । तसर्थ, समाजमा ब्याप्त रहेको नागरिक शक्ति सञ्चयका लागि जुन राजनीतिक समुहले नागरिकको ध्यान आफुमा केन्द्रित गर्दै समाहित गर्न सक्षम रहन्छ सही अर्थमा उक्त शक्ति नै सम्बद्ध मुलुकको शासकीय स्वरुपमा प्रतिस्थापित हुने विश्वब्यापी राजनीतिक सिद्धान्तबाट नेपाल पनि अछुतो रहन सक्दैन ।
राजनीतिक ध्रुवीकरणको उपरोक्त अवस्थालाई समयकाल परिस्थितिअनुसार रणनीतिक चार्तुयताको उच्च दखल प्रर्दशन गर्दै शासकीय स्वरुपमा आसिन रहनको लागि शक्ति सञ्चय गर्ने अनेकन विधिलाई उपयोग गर्ने प्रचलन रहिआएको छभन्दा फरक नपर्ला ।
तत्पश्चात सम्बद्ध समुहले राजनीतिको क्षेत्र लगायत सामाजिक परीवेशमा आफ्नो भूमिका सबल रुपमा स्थापित गर्दै अग्रगामी परिवर्तनका पथप्रदर्शकको रुपमा आफु र आफ्नो समुहलाई चिनाउने अवसर प्राप्त गर्नेछन् । प्रस्तुत कार्यको पूर्ण सफलताका लागि समाजमा ब्याप्त रहेको द्वन्द्वको मूल चुरो भने पहिल्याउनु अति नै जरुरी हुन्छ ।
घरेलु द्वन्द्वको प्रमुख कारक तत्वको रुपमा रहेको सम्बद्ध मुलुकको गरिबी, अज्ञानता, शैक्षिक जनचेतनाको अभावका साथै चरम अन्धविश्वासका कारण सामान्यतया द्वन्द्वले प्रोत्साहन पाउने आधारभूत पृष्ठभूमि हुन् । प्रस्तुत पृष्ठभूमिको जगमा उभिए समाजमा विध्यमान रहेको थिचोमिचो, अन्याय अत्याचारलाई जुन समुहले अग्रणी रुपमा पहलकदमी गर्दै त्यसको सकारात्मक समाधानको उपयुक्त निकास निकाल्न सक्षम रहन्छ, यथार्थमा उक्तशक्ति नै परिवर्तनकारी राजनीतिक शक्तिको रुपमा स्थापित हुने सम्भावनालाई नकार्न मिल्दैन ।
वस्तुत : यिनै मूलभूत तथ्यलाई आत्मसात् गर्दै ०५२ साल फागुन १ देखि नेकपा माओवादीले आफ्नो नेतृत्वमा नेपाली भूमिमा सशस्त्र द्वन्द्व आरम्भ गरेको तथ्य जगजाहेर रहेको छ । १० बर्षे द्वन्द्वको सिलसिलामा करीव १७ हजार नेपाली जनताले सहादत प्राप्त गरे भने कैयौं अङ्गभङ्ग समेत भए जसको लेखाजोखा गरी साध्य नै छैन । माओवादीद्वारा सञ्चालित जनयुद्ध एवम् २०६२÷०६३ को संयुक्त जनआन्दोलन तथा मित्रराष्ट्र भारत सरकारको मध्यस्ततामा भएको १२ बुँदे सम्झौता, पहिलो तथा दोस्रो संविधान सभाको निर्वाचनजस्ता लोकतान्त्रिक विधिलाई अवलम्बन गर्दै सात प्रदेशको संघीयता सहितको संघीय गणराज्य नेपाल तथा त्यसमा रहेका करीब ३ करोड नेपाली जनताले सार्वभौमसक्ता सम्पन्न गणराज्यको सम्प्रभू नागरिक भएको गौरब महशुस गर्दै आएका छन् ।
एकात्मक अवस्थाको हुकुमी राजतन्त्रात्मक शासकीय स्वरुपलाई विस्थापन एवम् गणतान्त्रिक राज्यब्यवस्थाको स्थापनाको प्रमुख आधारस्तम्भ के हो भन्ने तथ्यलाई अध्ययन नगरी नेकपा माओवादीको समुहले किमार्थ सशस्त्र द्वन्द्व आरम्भ गरेको थिएनभन्दा फरक नपर्ला । जुन निश्चितः रुपमा मुलुकमा ब्याप्त रहेको अभाव, गरिबी, न्यायहीनता एवम् वर्गीय विसंगति लगायतका आर्थिक विकास–समृद्धिको प्रतिफल समान रुपमा न्यायोचित ढङ्गले वितरण हुन नसकेकै कारण उब्जिएको राजनीतिक समस्याको रुपमा प्रस्तुत राजनीतिक उतार चढावलाई चित्रण गर्न सकिन्छ ।
यद्यपि शान्तिप्रिय नेपाली जनताको घरेलु राजनीतिक द्वन्द्वात्मक परिवेशबाट पृथक रहने चाहनालाई केही हदसम्म विश्व इतिहासका तथ्यसँग साक्षत्कार रहने समुहले ताकालिन शाहवंशीय परम्पराको रक्तहिन अवस्थामा सहजै बर्हिगमन हुने तथ्यलाई बेलायती रक्तहित क्रान्तिको ऐतिहासिक मर्मसरह तुलना गरेको पाइन्छ ।
हजारौं सहिदको त्याग र बलिदानीले प्राप्त हुन आएको नेपाली जनताको लोकतन्त्रप्रतिको चाहनालाई आज आएर कुनै समुहले आपसी द्वन्द्वगत मनोदशाका कारण राजनीतिको क्षेत्रमा विचलनमा ल्याउने प्रयास गर्छ भने न्यायप्रेमी नेपाली जनमतलाई सुपाच्य हुन सक्दैन । प्रस्तुत ब्यवहार गणतान्त्रिक लोकतन्त्रको भविष्य एवम् स्वयम् राजनीतिक समुहका लागि समेत प्रत्योत्पादक साबित हुन सक्ने देखिन्छ । किनकि सम्प्रभू नेपाली जनमतले उत्साह पूर्वक संविधानसभाको निर्वाचनमा दिएको जनअभिमतबाट स्थापित रहन आएको गणतान्त्रिक राज्य ब्यवस्थाप्रति कुनै पनि पक्षबाट अवहेलना गर्नु लोकतान्त्रिक गणतन्त्रको मूल्य–मान्यतालाई खिल्ली उडाउनुबाहेक अन्यथा केही पनि हुन सक्दैन ।
जनआकाङ्क्षा अनुरुपको कार्य हुन नसक्ने अवस्था पैदा भए संविधानसभाको निर्वाचनको समयमा ब्यक्त भएका जनअवधारणामा परिवर्तन आई वैकल्पिक राज्यब्यवस्थाको चाहना अभिब्यक्त हुन सक्ने तथ्यलाई मनन गर्दै कार्य गर्नुपर्ने हुन्छ । अतः मुलुकमा ब्याप्त रहेको गरिबी, अशिक्षा, बेरोजगारीजस्ता आमजनसरोकारका विषयलाई समयमै सम्बोधन गर्न नसक्ने अवस्था पैदा भए नेपाली जनमतले विकल्पस्वरुप अन्य कुनै तेस्रो पक्षलाई रोज्नु अस्वाभाविक कदम पक्कै पनि होइन । लोकतन्त्र भनेको जनमतको सागर हो, जनमतले आफ्नो अभिमत जसलाई प्रदान गर्छ यथार्थमा उक्त शक्ति नै शासकीय स्वरुपको अधिपति बन्न योग्य रहन्छ भन्ने तथ्यलाई राजनीतिमा रमाउन चाहने जो कोहीले पनि बुझ्नु पर्ने हुन्छ ।
राजनीतिशास्त्रको सामान्य सिद्धान्तअनुसार राजनीतिमा दीर्घकालिन मित्र वा शत्रु रहने छैन भन्ने तथ्यलाई मनन गरी जनहितकारी कार्य गर्न नसक्ने समुह इतिहासका पानामा निश्चित रुपमा विलिन हुनेछन् भन्दा फरक नपर्ला ।
तसर्थ, नेपाली राजनीतिका परीवर्तनकारी सम्बाहक समुहले आपसी बैमनस्यता कायम राख्ने हो भने कुनै पनि समय १२ बुँदे सहमतीअनुसार प्राप्त हुन आएको शान्ति–प्रक्रियाको बुँदागत विषयहरु राजनीतिक मृत्युपत्रको रुपमा रुपान्तरित हुन सक्ने खतरा पनि त्यति रहेको पाइन्छ । तसर्थ, सबै पक्षले होशियारीपूर्वक राजनीतिक भूमिका निभाउनु यथार्थमा लोकतन्त्र र जनताप्रति सही रुपमा जिम्मेवारी बहन गरेको मान्न सकिनेछ । विपरित अवस्था तयार भए संबैधानिक हक–अधिकारको प्रयोगमा अवरोध उत्पन्न हुन गई अराजक परिस्थितिको निर्माण हुने तथ्यलाई अन्यथा लिन मिल्दैन । जसको प्रत्यक्ष लाभ धुमित राजनीतिमा रमाउने समुहले ग्रहण गर्न सक्ने देखिन्छ ।
तत्पश्चात प्राप्त लोकतान्त्रिक उपलब्धिमा ह्रास गराउने जस–अपजसको मुख्य भागिदार सम्प्रभू नेपाली नागरिक समाज नभई केवल राजनीतिक समुह नै हुन् भन्ने प्रश्न उठ्नेछ । जसलाई दलीय भागबण्डामा आएको लुछाचुडीले निम्ताएको सबैभन्दा खराब परिसूचकको नमूनाको रुपमा लिन सकिन्छ । यस प्रकारका ब्यवहारको तिब्रताको कारण मुलुकमा पुनः राजनीतिक दुर्घटनाको गहन सम्भावनालाई सहजै इन्कार गर्न मिल्दैन । किनभने शान्तिप्रक्रियाको भावना र मर्मअनुसार सशस्त्र द्वन्द्वलाई सदाको लागि अन्त्य गर्दै राजनीतिक मुलधारमा अवतरण गराउन सफल रहेको तथ्यलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन ।
विपरीत अवस्था तयार पार्नु भनेको प्राप्त लोकतान्त्रिक उपलब्धिलाई अवसान उन्मुख मार्गमा अग्रसर गराउनु हो । अवसान मुक्ति लागि सम्पूर्ण लोकतन्त्रप्रेमी जनसमुदायलगायत प्रजातन्त्रका हिमायती शक्तिहरुले बुद्धिमत्तापूर्ण ढङ्गबाट प्राप्त राजनीतिक उपलब्धि, गणतान्त्रिक संविधानको मूल्य एवम् मान्यताका अतिरिक्त नागरिक सर्वोच्चताको रक्षाको खातिर आपसी कटुताको विविधतालाई मुलुक र जनहितको लागि थाती राख्दै लोकसम्मति अनुरुपको ब्यवहारलाई अपनाउँदै वार्ताको माध्यमबाट छिनोफानो गर्ने रणनीतिलाई अख्तियार गर्नुपर्ने हुन्छ । जसलाई लोकतन्त्रको सुन्दर गहनाको रुपमा लिन सकिन्छ ।
जसको सकारात्मक प्रभाव भन्नु नै मुलुक, नागरिक समाज र दलीय राजनीतिको साख उचो रहन गई विकास एवम् न्यायप्रेमी नेपाली जनमतको शान्तिप्रतिको चाहना तथा समृद्धिको लक्ष्यलाई नागरिक समाजको समक्ष पस्कन नेपालका राजनीतिक समूह पूर्णरुपले सफल रहने छन् भन्ने विश्वास लिन सकिन्छ ।
तदुपरान्त पश्चगामी शक्तिहरुमा हाल देखिएको शक्ति प्रदर्शनको क्षेत्रमा समेत न्यूनता छाउने छ । प्रस्तुत ब्यवहारलाई समयमै रोक्न सकेनौ वा रोक्ने चेष्टा गरेनौ भने आन्तरिक एवम् बाह्य शक्ति केन्द्रहरुको आपसी चलखेल बढ्न गई अवस्था भयावह नहोला भन्न सकिदैन ।