काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गरेर सम्पन्न भएको छ ।
सोमबारको बन्दसत्रमा विवादका कारण नाराबाजी भएपछि अध्यक्ष बाहेक अन्य कुनै पनि पदाधिकारी र केन्द्रीय समितिको घोषणा नगरी सम्पन्न गरिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई आइतबार नै तोकिदिएका थिए ।
‘अध्यक्षमा पञ्चा सिंहबाहेक अरु कुनै पनि पदाधिकारी र केन्द्रीय समिति बन्द सत्रको हलले टुंग्याउन सकेन,’ अखिल क्रान्तिकारीका नेता नरेश रेग्मीले भने, ‘सम्मेलन सम्पन्न भयो ।’ सोमबारको बन्दसत्रमा पदाधिकारी, प्रदेश इञ्चार्ज र केन्द्रीय सदस्यहरु घोषणा गर्ने तयारी थियो ।
फ्याक्सन इन्चार्ज हितमान शाक्य, निवर्तमान अध्यक्ष रञ्जित तामाङ सहितका नेताहरू आन्तरिक सहमतिबाट नामावली घोषणाको अन्तिम तयारी गरी बन्दसत्रको हलमा प्रवेश गरेका थिए । तर त्यसअघि नै अखिल क्रान्तिकारीको महासचिव दीपेश पुन बनेको समाचार मिडियाहरुमा सार्वजनिक भइसकेको थियो ।
जबकि बन्दसत्रमा फ्याक्सन इन्चार्जले नामावली प्रस्तुत गर्ने र हलले पास गर्ने प्रक्रिया पूरा हुन बाँकी नै थियो । महासचिवमा पुनको नाम सार्वजनिक भएलगत्तै महासचिवका दाबेदारहरु असन्तुष्ट थिए । महासचिवमा दीपेश पुनसँगै पवन कार्कीको पनि दाबी थियो । दीपेशको नाम मिडियामा पहिल्यै सार्वजनिक भएपछि फ्र्याक्सन इञ्चार्ज शाक्यले हलमा पदाधिकारीहरुको नामावली वाचन गर्न नपाउँदै होहल्ला हुन थाल्यो ।
असन्तुष्ट पक्षले महासचिवमा दीपेशलाई स्वीकार्न नसकिने भन्दै नाराबाजी गर्न थाल्यो । स्थिति असामान्य भएपछि फ्र्याक्सन इन्चार्ज शाक्यले अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गरेर सम्मेलन सकिएको घोषणा गरिदिए ।
फ्र्याक्सन इञ्चार्ज शाक्य नै पार्टीको आधिकारिक व्यक्ति भएकाले अब उनैले अध्यक्ष बाहेकका बाँकी पद टुंगो लगाउने एक नेताले बताए । यद्यपि पुनले भने फ्र्याक्सन इञ्चार्ज शाक्यले महासचिव सहितका सबै पदाधिकारी टुंगो लगाइसकेको बताउँछन् । आफू वरिष्ठ उपाध्यक्ष पदमै रहन खोजेको तर महासचिवका दावेदारहरुबीच सहमति हुन नसकेपछि शाक्यले आफूलाई महासचिव बनाएको पुनको भनाइ छ ।
बन्दसत्रको हलमा विधानमा उल्लेख भएको भन्दा धेरै सदस्य राखेर समिति बनाउन खोजेपछि विरोध भएको उनले बताए । पुनले भने, ‘हलमा विधानभन्दा नबढाउने भन्ने आवाज उठेको हो । त्यो विषय मेरो पनि हो ।’