• मंसिर १२ २०८१, बुधबार

क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान, अध्यक्ष मात्र चयन

आश्विन १९ २०७८, मंगलवार

काठमाडौं । विधान विपरीत सदस्य संख्या थप्न खोजेपछि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको जारी २२औँ राष्ट्रिय सम्मेलनमा नाराबाजी र कुर्सी हानाहान भएको छ ।

सोमबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पदाधिकारी र केन्द्रीय कमिटीको नाम घोषणा गर्ने तयारी भएपनि विधान विपरीत सदस्य संख्या थप्न खोजिएको तथा किस्ताबन्दीमा पदाधिकारी चयन गर्न खोजेको भन्दै प्रतिनिधिले नाराबाजी र कुर्सी हानाहान गरेका हुन् ।

विरोध र नाराबाजीपछि अध्यक्षबाहेक केन्द्रीय कमिटी घोषणा हुन नसकेको विद्यार्थी नेताहरुले बताएका छन् । निरन्तर नाराबाजीका कारण अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गरिएको उनीहरुको भनाइ छ । फ्याक्सन इन्चार्ज हितमान शाक्यले अध्यक्षको घोषणा गरेपछि अन्य पदाधिकारीमा सहमति जुटाएर घोषणा गर्ने बताएका थिए ।

त्यसपछि सबै पदाधिकारी एकैपटक घोषणा गर्नुपर्ने भन्दै प्रतिनिधिहरू आक्रोशित बनेर सामान्य नाराबाजी र कुर्सी फालाफाल गरेको अखिल क्रान्तिकारीका विघटित केन्द्रीय कमिटीका केन्द्रीय सचिव क्षितिज सापकोटाले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई बनाउने निर्णय भएको थियो । महासचिवमा दीपेश पुनको नाम घोषणा गर्न लाग्दा प्रतिनिधिहरुले त्यसमा पनि विरोध जनाएका थिए । पुन यसअघि उपाध्यक्ष रहेका थिए ।

अखिल क्रान्तिकारीको विधानमा २५ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको विद्यार्थी नेताहरुले बताएका छन् । क्रान्तिकारीको २२ औंराष्ट्रिय सम्मेलन १४ असोजबाट सुरु भएको थियो ।