• मंसिर १२ २०८१, बुधबार

प्रकाशमान सिंहको प्रश्न : पार्टीमा बोल्न पाइँदैन भन्ने को हो ?

आश्विन १८ २०७८, सोमबार

काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले अझै चार जिल्लामा क्रियाशील सदस्यताका विवाद टुंग्याउन नसकेको बताएका छन्। पार्टीले विवाद समाधान गरेर जानुपर्छ भनेर आफूहरूले आवाज उठाए पनि पदाधिकारीहरूले नै पार्टीका कुरा बाहिर नलैजान भन्ने गरेको उनले खुलाए ।

‘दम्भ देखायो भन्छन् हामीले के दम्भ देखाउने ?,’ चाक्सीबारीमा सोमबार बिहान नेता -कार्यकर्तासँग उनले प्रश्न गरे, ‘दम्भ त जो पार्टी सत्तामा छ, संस्थापनमा छ उनीहरूले देखाएका छन्। केन्द्रीय कार्यालयमा कार्यकर्ता धर्ना बसेको ८० दिन नाघिसक्यो, यसमा कुरा उठायो भने पदाधिकारीहरू स्यालको हुइँय्याजस्तो पार्टीको आवाज बाहिर उठाउन भएन भन्छन्।’

पार्टी पदाधिकारीहरूले बेलैमा क्रियाशील सदस्यताको विवाद हल गर्नुपर्नेमा त्यसो नगर्दा समस्या भइरहेको उनले बताए। ‘काम चाहिँ गर्न नहुने खालका गर्ने, कार्यकर्ताको मनोबल गिराउने काम गर्ने अनि हामीले यसो गर्न पाइँदैन भन्दा बोल्न पाइँदैन भनेर भन्ने तिनीहरू को हुन् ? यो पार्टीमा सबैको लगानी छ, पदमा पुगेँ भनेर चाकडी गर्ने र गुणगान मात्रै गाउने ?’

उनले १४ औं महाधिवेशनबाट पार्टीलाई सुधार गरेर जानुपर्ने बताए। जिम्मेवार नेताको हातमा नेतृत्व पुर्‍याउन उनले आग्रह गरेका छन् । काम गर्न सक्ने नेताहरू अब अगाडि बढ्नुपर्ने उनले बताए। उनले असफल नेताहरूलाई अब नेतृत्वमा पुर्‍याउन नहुने पनि बताए।