• मंसिर १२ २०८१, बुधबार

कांग्रेस नेता सिंह भन्छन्,‘उपत्यका भन्दा बाहिरका नेताको झोला कहिलेसम्म बोक्ने ?

आश्विन १६ २०७८, शनिबार

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा आफूले पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन् । शनिबार काठमाडौं महानगरपालिका समितिको अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेसलाई सक्षम बनाउन आफू ‘फस्ट म्यान’ बन्न अघि बढेको बताए ।

‘काठमाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो ?’ उनले प्रश्न गरे, ‘अरुको छोराहरुले त अवसर पाएका छन् त ।’ उनले उपत्यकाबासीले बाहिरबाट आएका नेतालाई मात्र साथ दिएको दुखेसो गरे । उपत्यकाका कांग्रेस कार्यकर्ताले आफ्नो नेतालाई सधैं सानो देख्ने र बाहिबाट आएको नेतालाई अघि बढाउँदा आफूहरु पछि परेको उल्लेख गरे ।

‘उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई सानो देख्ने र बाहिरबाट आएको नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो, अरुको झोला उपत्काका बासीले कहिलेसम्म बोक्ने ?’ उनले प्रश्न गरे ।

नेता सिंहले काम गर्न नसक्नेहरुको गुणगान नगाउन कार्यकर्ताहरुलाई आग्रह गरे । वर्तमान सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले विश्राम लिनुपर्ने उनको भनाइ छ । ‘१३औं महाधिवेशन पछि उहाँहरुले अवसर त पाएकै हो नि, तर क्रियाशील सदस्यता विवाद मिलाउन नसकेर समय सकिँदा पनि अधिवेशन गर्न सकेको छैन’ उनले भने, ‘अनि किन गुणगान गाउने ?’

नेता सिंहले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आऊ भन्ने अवस्था आएको बताए । २०७४ सालमा कांग्रेस तीन तहको निर्वाचनमा नराम्ररी पराजित भएसँगै आफूले सभापति देउवा असफल भएको भन्दै राजीनामा मागेका उनले बताए । सभापति देउवाले आफ्नै गृह जिल्ला डडेलधुरामा जिल्ला सभापतिलाई वाइपास गरेर शक्ति प्रदर्शन गरेको नेता सिंहको आरोप थियो ।