• मंसिर १२ २०८१, बुधबार

संग्रौला र भट्टराईले लगाए एमालेलाई गम्भीर आरोप

आश्विन १६ २०७८, शनिबार

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले नेकपा एमालेको प्रथम विधान महाधिवेशनमाथि कडा टिप्पणी गरेका छन् । खास गरी एमाले अध्यक्ष केपी ओलीको फोटो राखेर गरिएको तडक–भडक र कार्यकर्ताले गरेको स्कटिङप्रति भट्टराई र संग्रौलाले कटाक्ष गरेका छन् ।

डा. भट्टराईले यसलाई ‘निभ्न लागेको बत्ति’को संज्ञा दिएका छन् भने लेखक संग्रौलाले एमालेलाई ‘कम्युनिस्टका नामको कलंक’ भनेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. बाबुराम भट्टराई भन्छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो । लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’

डा. भट्टराई अगाडि थप्छन्, ‘नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया ।’

त्यसैगरी साहित्यकार खगेन्द्र संग्रौलाले केपी ओलीमाथि कटाक्ष गर्दै भनेका छन्, ‘बालकोट–गोदावरी बाटाभरि ओलीका फोटैफोटा । लामबद्ध भक्तद्वारा ओलीको गोदावरी सवारी चलान । मञ्चमा न मार्क्स, न पुष्पलाल । मञ्चमा केवल ओली, बोतलमा ओली ।’

संग्रौला अगाडि भन्छन्, ‘६ हजारको भीडमा एक राजा, अरू प्रजाः एक देवता, अरू दास । एक प्रभु ओलीको देवत्वकरणमा ६ हजार भक्तको दासत्वकरण । हैट, कम्निस्ट नामको यो कलङ्क ।’