• मंसिर १२ २०८१, बुधबार

प्रभु साहद्वारा एमालेको विधान महाधिवेशन बहिस्कार

आश्विन १५ २०७८, शुक्रबार

काठमाडौँ। प्रभु साह नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी नहुने भएका छन्। शुक्रबार बिहान काठमाडौँमा आयोजित आफूनिटक नेताहरुसँगको छलफलपछि नेता शाहले एमालेको विधान महाधिवेशनमा सहभागी नहुने निर्णय गरेका हुन् ।

सर्वाेच्च अदालतले तत्कालीन नेकपालाई विभाजन गरेर साबिककै एमाले र माओवादी बनाउदा साह माओवादीबाट एमालेतिर लागेका थिए । एमालेमा रहँदा विभिन्न मागहरु राख्दै आएका उनी पछिल्लो समय पार्टीमा निष्क्रिय देखिन्छन् ।

उनले प्रदेश नं. २ मा कमिटी निर्माण, पदाधिकारी चयन तथा कार्य विभाजन, आईटी आर्मीलाई पार्टीकै जनसंगठनको रुपमा मान्नुपर्नेलगायत विभिन्न मागहरु राख्दै आएका छन् । तर, एमालेले उनका ती मागहरु पूरा गर्ने स्थितिमा छैन। यसैकारण उनी अहिले एमालेमा नरहने संकेत देखाउदै आएका छन् ।

यसैगरी साहको अर्काे माग हो–पूर्वमाओवादी नेता कार्यकर्तालाई पार्टीमा विशेषगरी स्थान दिइनुपर्छ । तर, उनी आफैँलाई एमालेले तल्लो तहको दर्जामा राखेपछि असन्तुष्टि देखाउदै आएका छन् । माओवादी रहँदा उनी स्थायी कमिटी सदस्य थिए तर, अहिले एमालेमा उनी केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

केही महिनायता उनले ओली नेतृत्वको एमालेलाई नेकपाको निरन्तरताको रुपमा लिनुपर्ने र त्यही अनुसारको नीति हुनुपर्ने बताउँदै आएका थिए।

‘जनताको जनवाद मान्ने कुरा भएको थियो। अहिले फेरि जनताको बहुदलीय जनवादमा फर्कने कुरा भएको छ। यो हामीलाई स्वीकार्य छैन। यसअघिको चुनावमा हामीले जनताको जनवादका लागि भोट मागेका थियौं’, उनले अगाडि भने,‘एमाले नेकपा बनेको दुई वटा धारबाट हो। एउटा एमालेबाट र माओवादीबाट एमाले र माओवादी पार्टी मिलेर बनिसकेको पार्टी फेरि २०७२ सालमा फर्कन कसरी मिल्छ?’

ओलीले मुखले स्वीकार गरे पनि व्यावहारिक रुपमा भने हिजोकै एमालेलाई निरन्तरता दिएको साहको बुझाइ छ। ओलीले आफूलाई दिएको बचनबाट पछि हट्दै धोका दिएको बुझाइमा साह छन्। एमालेमा असन्तुष्ट भएका उनले आईटी आर्मीका नाममा प्रदेश २ का जिल्लाहरुमा गतिविधि गर्दै आएका छन्।