काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीको जोखिम यथावत रहेको भन्दै बढी भीडभाड हुने कार्यक्रमहरु आयोजना गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंको जारी आदेशबारे स्पष्टीकरण दिएको छ ।
मन्त्रालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै नेपालको संविधान, प्रचलित कानुन र कोभिड-१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकल भित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने सरकारको कुनै आदेश र उद्देश्य नभएको भन्दै जारी आदेशको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले आज एक आदेश जारी गर्दै कोभिड-१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले अनावश्यक रूपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा, जुलुस गर्ने, जात्रा, महोत्सव, भोज आदि नगर्ने/नगराउने भनेको थियो ।
कोरोना महामारी पूर्ण रूपमा नियन्त्रणमा आई नसकेको र केही दिनयता सङ्क्रमितहरूको सङ्ख्या बढी रहँदा चाँडबाँडमा थप सङ्क्रमण नबढोस् भन्नका लागि सरकारले आवश्यकता सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ । कोभिड-१९ नफैलियोस् भन्ने हेतुले अनावश्यक भिड नगरी दिन अनुरोध गरेको कुरालाई अतिरञ्जित बनाउँदै आम नागरिकलाई सरकारप्रति नै नकारात्मक भाव पैदा गराउने गरी सूचना सम्प्रेषण भएकोले मन्त्रालयले विज्ञप्ति नै जारी गरेर स्पष्ट पार्नु परेको गृहका एक अधिकारीले बताए ।