• मंसिर १२ २०८१, बुधबार

एमाले नेता बादलले भने – संसद विघटन सही थियो भन्ने पार्टीको निष्कर्ष हो

आश्विन १४ २०७८, बिहीबार

काठमाडौँ। नेकपा एमालेका नेता रामबहादुर थापाले प्रतिनिधि सभा विघटन सही भन्ने निर्णय पार्टीको निर्णय भएको बताएका छन् । शुक्रबारदेखि काठमाडौँमा सुरु हुन लागेको विधान महाधिवेशनको तयारीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा थापाले भने ‘संसद विघटन सही थियो भन्ने पार्टीको निर्णय हो ।’ उनले पार्टीभित्र संसद् विघटन गलत भन्ने विचार रहेको पनि बताए ।

भोलिदेखि सुरु हुने महाधिवेशनमा ६ हजारभन्दा धेरै प्रतिनिधिहरु सहभागी हुने उनले जानकारी दिए । महाधिवेशनको भोलि १२ः१५ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । गोदाबरीस्थित सम्मेलन केन्द्रमा हुने कार्यक्रममा सहभागी प्रतिनिधिहरुका लागि छुट्टाछुट्टै सीट प्लानिङ गरिएको व्यवस्थापन समितिका संयोजकसमेत रहेका थापाले भने ।

थापाका अनुसार पदाधिकारी तथा स्थायी कमिटी सदस्यहरु मञ्चमा र मुल हलमा तीन हजार प्रतिनिधि बस्नेछन् । दायाँ र बायाँको हलमा एकेक हजार पदाधिकारी बस्नेछन् । हलमा नअट्नेहरुका लागि बस्नको लागि टेन्टको व्यवस्था गरिएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै खान पाउनेछन् भने साँझको खाना भने आफैँले व्यवस्थापन गर्नुपर्ने नीति बनाइएको थापाले जानकारी दिए ।