काठमाडौँ। नेकपा एमालेको अवरोधका बीच प्रतिनिधि सभाको बैठक केही बेर बसेर स्थगित भएको छ। बिहीबारको बैठक करिब ८ मिनेट बसेको थियो।
आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद्हरुको नाराबाजीका बीच सभामुखले बैठकको कार्यसूची अघि बढाएका थिए। उनले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।
त्यसपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ पेश गर्न समय दिएका थिए । बैठकमा उनले नाराबाजी गरिरहेका एमाले सांसदहरुलाई संविधानको धारा १ सय ५ अनुसार अदालतमा विचाराधीन मुद्धामा संसदमा छलफल हुन नसक्ने कुरा ध्यानाकर्षण गराएका थिए ।
सभामुखको आग्रहको वेवास्था गर्दै एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुद्धा फिर्ता गर भन्ने जस्ता नारा लगाएका थिए ।
अर्को बैठक असोज १९ गते मंगलबार दिउँसो १ बजे बस्ने छ।