• मंसिर १० २०८१, सोमबार

प्यानल बनाएर चुनाव लड्न नपाउने भएपछि रावलहरुको गुट विघटन

आश्विन १४ २०७८, बिहीबार

काठमाडौं । विवाद समाधान गर्न १० बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ ।

नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरू अहिले छिन्नभिन्न भएपछि एमाले भित्रको संगठित गुट विघटन भएको हो । विधान मस्यौदामा महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचनमा भाग लिन नपाउने, व्यक्तिमात्रै उम्मेदवार बन्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

‘अध्यक्षसहित सबै पदाधिकारी र सदस्य महाविधेशन वा अधिवेशनबाट निर्वाचित हुने र निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने’, विधान मस्यौदामा उल्लेख छ ।

विधानमै प्यानल बनाउन बन्देज लगाउन गरिएको प्रस्ताव विधान महाधिवेशनबाट अनुमोदन भएपछि एमालेमा अब संगठित रुपमा गुटबन्दी नहुने दाबी नेताहरूको छ ।

नवौं महाधिवेशनमा नेतृत्वका लागि केपी ओली र माधव नेपालले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लडेका थिए । नवौैं महाधिवेशनमा नेतृत्वमा पुग्न प्यानल बनाएर निर्वाचनमा गएका कारण पार्टीभित्र समस्या उत्पन्न भएको र त्यसैका कारण विभाजनसम्म पुगेको भन्दै अहिले विधानमै प्यानल बनाउन बन्देज लगाउने प्रस्ताव गरिएको हो ।

नवौं महाधिवेशनपछि एमालेमा दुई लाइन संघर्ष सुरु भएको थियो । त्यसैकारण देशव्यापीरुपमा पार्टी दुई धारमा विभाजित भएको थियो । नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसपछि उनले महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका नेपाल र उनको समूहलाई पेलेर पार्टीभित्र काम गर्ने वातावरण नदिएको आरोप लागेको थियो । यो समाचार नागरिक दैनिकमा छ ।