काठमाडौं । सोमबार काठमाडौँको कपनबाट हराएका ४ वर्षका पीयूष शर्मा भारतमा फेला परेका छन् । सोमबार साँझबाट हराएका बालक भारतमा आफन्तको सम्पर्कमा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताए । बालकको अपहरण भएको आशङ्कामा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
भारतको बिहान घर भएका पीयूष आमाबुवासँग कपनमा बस्दै आएका थिए । बालकका आमा बुवासँग चिनजान भएका शङ्कर दासले बच्चा लगेको थाहा भएको छ । ‘हजुरबुबाले बच्चालाई विहारस्थित आफ्नो घरमा ल्याएका छन्’ एसपी बस्नेत भन्छन्–‘अब काठमाडौँ ल्याउँदै छन् ।’
बालकका बुवा विनोद शर्मा टायलको काम गर्छन् । बुबा आमालाई जानकारी नदिई कपनस्थित चुनिखेल बस्ने भारतीय नागरिक शङ्कर दासले बालकलाई लिएर हिँडेका थिए । तेजिया पर्वका लागि आमा फलफूल किन्न गएको र फर्किंदा बच्चा नभेटेपछि परिवारले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा खबर गरेका थिए ।
महाराजगञ्ज प्रहरीले बेवास्ता गरेपछि उनीहरू बच्चा खोजिदिन आग्रह गर्दै मंगलबार महानगरीय अपराध महाशाखामा पुगेका थिए । विनोद र शंकरको बिचमा पूर्व चिनजान थियो । दुवै भारतको बिहारका हुन् ।