काठमाडौं । प्रहरीले ताप्लेजुङमा मृत अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा हत्या भएको जनाएको छ । घटनाबारे भएको प्रारम्भिक अनुसन्धानका क्रममा सुनियोजितरूपले हत्या भएको देखिएको प्रहरीले जनाएको हो ।
हत्या आरोपमा फुङ्लिङ नगरपालिका–१० का ट्याक्टर चालक राम कार्कीलाई पक्राउ गरी भएको अनुसन्धानका क्रममा योजनाबद्ध रूपले हत्या भएको पाइएको ताप्लेजुङ प्रहरी प्रमुख बालनरसिंह राणाले बताए । उनका अनुसार आइतबार पक्राउ परेका कार्कीले बयानका क्रममा पुष्पाको हत्या गरेको स्वीकार गरेका छन् ।
“पक्राउ परेका कार्कीले आफूले हत्या गरेको स्वीकार गरेका छन्, प्रारम्भिक अनुसन्धानका क्रममा उनले दिएको बयानबाट योजनाबद्ध ढङ्गले हत्या भएको देखिन्छ”, प्रनाउ राणाले भने । आइतबार जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान सुरु गरिएको राणाले बताए ।
विगत नौ महिनादेखि प्रेम सम्बन्धसँगै शारीरिक सम्बन्ध भएको तर विवाहको प्रस्ताव भने अस्वीकार गरेपछि विवाद हुँदा आफूले हत्या गरेको कार्कीले प्रहरी समक्ष बयान दिएका छन् । विवादपश्चात टाउकोमा ढुङ्गाले प्रहार गरेको र त्यसपछि जबरजस्ती विषादी खुवाई भीरबाट धकेलेर झारेको कार्कीले बयान दिएका छन् ।
फक्ताङ्लुङ गाउँपालिका–३ भर भई सदरमुकाममा डेरा गरी बस्दै आएकी पुष्पा तबेबुङ (लिम्बू) भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । उनको शव फुङलिङ नगरपालिका–७ स्थित चारपाटेदेखि फुङलिङ बजार आउने जाने गोरेटो बाटोभन्दा २५ फिटमुनि फेला परेको थियो ।