• बैशाख २८ २०८३, सोमबार

बजारमा सिटामोलको अभाव, मूल्य बढाउन व्यवसायीको माग

आश्विन ९ २०७८, शनिबार

कास्की । बजारमा ज्वरो र दुखाइ लगायतका बिरामीका लागि प्रयोग हुने पारासिटामोलको चरम अभाव देखिएको छ । गण्डकी प्रदेशका पोखरा लगायत अन्य जिल्लामा पारासिटामोलको अभाव देखिएको हो ।

अन्तरराष्ट्रिय बजारमै औषधि बनाउन आवश्यक कच्चा पदार्थको भाउ बढेको कारण देखाउँदै औषधि उत्पादक कम्पनीहरुले यसको झण्डै शत प्रतिशत मूल्य वृद्धि गर्न माग गर्दै आएका छन् तर सरकारले कोरोना महामारीले सर्वसाधारणको आर्थिक अवस्था कमजोर बनेको बताउँदै अहिलेको अवस्थामा मूल्य बढाउन नहुने अडान राखेपछि कम्पनीहरुले उत्पादन नै रोकेका हुन् । परिणामस्वरुप अहिले बजारमा पारासिटामोलको अभाव देखिएको छ ।

सरकारले जनताका लागि अत्यावश्यक सूचीमा रहेका झण्डै दुई दर्जनभन्दा बढी औषधिको मूल्य निर्धारण गरेको थियो । झण्डै डेढ दशक बितिसक्दा समेत सरकारले ती औषधिका मूल्य समायोजन नगरेको औषधि उद्योगीहरुको भनाइ छ ।

पोखरामा विगत १५ वर्षदेखि औषधिको थोक विक्रेताको काम गर्दै आएको सृजना मेडिसिन डिस्ट्रियुटरका संचालक केशव घिमिरेले बजारमा पारासिटामोलको अभाव भएको बताए । उनले विगत २ महिनादेखि कम्पनीहरुले सिटामोल उत्पादन नगरेका कारण अभाव देखिएको प्रस्ट पारे ।

‘बजारमा सिटामोलको माग उच्च छ, खुद्रा व्यवसायीले सिटामोल चाहियो भनेर दिनमा सयौं कल गर्छन्,’ उनले भने, ‘तर, कम्पनीले १० रुपैयाँमा सिटामोल बेच्दा घाटा पर्ने भएकाले उत्पादनै बन्द गरेको जवाफ दिन्छन् ।’

औषधिको गुणस्तर, उत्पादन र वितरण लगायतका सम्पूर्ण कार्यको अनुगमन गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभागले जनताका लागि आवश्यक औषधिको सहजताका लागि सक्रियता देखाउनु पर्ने उनको भनाइ छ ।

पोखरा, बिरौटाका सुरेन्द्र पोखरेलले पोखरा क्षेत्रका एक दर्जन औषधि पसलमा खोज्दासमेत पारासिटामोल नपाएको बताए । ‘विरौटादेखि पृथ्वीचोक, सभागृहचोक, न्यूरोड लगायतका ठाउँका एक दर्जनभन्दा धेरै पसल चाहर्दा पनि एक पत्ता सिटामोलसमेत पाइएन,’ उनले भने ।