काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को विरोधका बीच राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७८ पेश भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयक सभामा पेश गरेका हुन् ।
राष्ट्रिय सभा बैठकको प्रारम्भमा बोल्दै नेकपा(एमाले)का तर्फबाट राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र अध्यादेश लागु गराउनका लागि सभामुखको भुमिका हुनु गलत भएको बताए । उनले नेकपा(एमाले)ले कारबाही गरेका सांसदहरुको सूचना सभामुखले हालसम्म टाँस नगरेको भन्दै राष्ट्रिय सभा बैठकको अवरोध जारी राख्ने बताए ।
विनियोजन विधेयक पेश भएसँगै राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।