काठमाडौं । मलेसियाबाट एकैदिन ६ वटा शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेसिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव शनिबार नेपाल ल्याइएको हो । ६ जनाको शवसँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ ।
नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ ।
उनले परिवारका सदस्यहरूले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताए ।
स्वयंसेवक रायमाझीले भने,‘२००२ मा उहाँ मलेसिया जानुभएको रहेछ, त्यसपछि उहाँ नेपालमा सम्पर्कविहीन भएर बस्नुभएको रहेछ, उहाँ त्यहाँ अवैधानिकरूपमा बस्नुभयो, लगभग १९ वर्षसम्म बस्नुभयो, पछि छोराहरूसँग यहाँ सम्पर्क भएपछि टिकट काट्ने पैसासमेत छोराले दिएर यता ल्याउने व्यवस्था गर्नुभएको रहेछ, त्यहाँबाट एयरपोर्ट आएपछि एयरपोर्टमै ढल्नुभएछ र पुलिसले काम गर्ने ठाउँमा लानु भनेपछि त्यहाँ जानुभयो, हस्पिटलमा बस्नुभयो, यो सम्पूर्ण काम मलेसियास्थित जनउद्धार केन्द्रले गर्यो, दुई तीन दिन हस्पिटलमा बसेपछि मृत्यु भयो, मृत्यु भइसकेपछि के गर्ने भन्ने कुरा आयो, त्यसपछि नेपालमा कान्छो छोराले मैले बुबालाई राम्रोसँग देखेको छैन, म सानै हुँदा जानुभएको ल्याइदिनु म हेर्छु भनेपछि हामीले त्यो सबै खर्च व्यहोरेर नेपाल ल्याएका हौं ।’
कानुनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन । विदेशमा मृत्यु भएकाहरूको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म शववाहनमा शव पुर्याउने गर्दै आएको छ ।