• फाल्गुन २८ २०८२, बिहीबार

प्रचण्ड र माधव नेपाल कांग्रेसको पुच्छर बने : टोपबहादुर रायमाझी

भाद्र ३० २०७८, बुधबार

काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसको पुच्छर बनेको बताएका छन्।

बुधबार रुपन्देहीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले आफ्नो स्वार्थ र पदप्रतिष्ठाका लागि प्रचण्ड र माधवले कम्युनिस्ट पार्टी फुटाएर कांग्रेसको पुच्छर बनेको आरोप लगाए ।

‘व्यक्ति स्वार्थमा पार्टी एकतालाई पद प्रतिष्ठाका लागि उपयोग गरे । फुटाउने कुचेष्टा गरे । ओलीको नेतृत्वमा एकता जोगाउन पहल गर्‍यौं । तर उहाँहरु
प्रतिपक्षी नेता बोकेर पुच्छर बनेर हिँड्न थाल्नुभयो। नेकपाबाट भाग्नुभयो । आफ्नो आफ्नो कोठातिर लाग्नुभयो । नयाँ उद्देश्य राखेर गएको होइन । गलत गर्नुभयो,’ उनले भने ।

पहिला ५ वर्षका लागि केपी ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको पछि आफ्नो स्वार्थपूर्ति नहुने भएपछि पटक पटक अपदस्त गर्न खोजेको भन्दै केही गर्दा पनि नसकेपछि प्रतिपक्षीको शरणमा पुगेको उनले टिप्पणी गरे ।

रायमाझीले प्रचण्ड र माधवले गद्दारी गरेको आरोप समेत लगाए । कम्युनिष्ट आन्दोलनप्रति गद्दारी गरेर, कांग्रेसको पुच्छर बनेर सरकार बनाए पनि अझै आफ्नै बलमा उभिन नसकेको उनको भनाइ थियो ।

‘यति हुँदाहुँदै पनि सरकार बनाउनुभएको छ, कांग्रेसको पुच्छर बन्नुभएको छ । कम्युनिस्टहरु कांग्रेसको पुच्छर हो ? गल्ती गर्नुभयो । अहिले त गर्नुभयो भोलि पनि कांग्रेसको नेतृत्वमा चुनावमा गठबन्धन बनाउने रे । एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत छैन । अब कांग्रेसको चुनावी घोषणापत्रमा महागठबन्धन गर्नेले विकास गर्छ ?’ उनले प्रश्न गरे ।

अहिले सम्पूर्ण पार्टी एकातिर एमाले एकातिर भएको उल्लेख गर्दै रायमाझीले दुनियाँको कुनै पनि शक्तिले एमालेलाई पराजित गर्ननसक्ने दाबी गरे ।

उनले भने, ‘हामी एकजुट हुनुपर्छ । माओवादी पृष्ठभूमिको हामी ओलीकै नेतृत्वमा समृद्ध हुन्छ भनेर जोडिएका छौं । साथीहरु परपर जानुहुन्छ । भ्रममा नपरौं । जोडिऔ । अहिलेको आवश्यकता ओलीको नेतृत्वमा देश बनाउने हो,’ ।