• मंसिर १० २०८१, सोमबार

देशभर फेरि पनि मलको अभाव, छैन सरकारी तयारी

भाद्र ३० २०७८, बुधबार

काठमाडौं । धानमा टप ड्रेसिङ गर्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ । घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन् । धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित छन् ।

समयमा मल राख्न नपाए अपेक्षित उत्पादन हुँदैन । राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीका अनुसार सरकारको फितलो तयारीले रासायनिक मल अभाव भएको हो । ‘धान गोड्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ,’ पूर्वअध्यक्ष अधिकारीले भने, ‘किसानले पैसा हालेर पनि मल किन्न पाएका छैनन् ।’

सम्बन्धित निकाय जवाफदेही नहुँदा वर्षेनी धान रोप्ने र गोड्ने बेला मल अभाव हुने गरेको अधिकारी बताउँछन् । ‘मल आपूर्तिको जिम्मेवारी पाएका निकायमा दायित्वबोध भएन,’ उनले भने, ‘सधैं नीतिगत समस्या देखाएर पन्छिने र पन्छाउने काम भएको छ ।

सम्बन्धित निकायले जिम्मेवारी नलिएसम्म समस्या दोहोरिरहन्छ ।’ सरकारले जेठ १५ मा मल किन्न बजेटको सुनिश्चितता गर्दा पनि मल ल्याउन नसक्नु सम्बन्धित निकायको अक्षमता भएको अधिकारीको आरोप छ ।

रासायनिक मल आयात गरेर आपूर्तिको जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पुरानो स्टक रित्तिँदै गएपछि किसानले मल पाउन छाडेका छन् । अहिले मुलुकमा ८ हजार ६ सय ६४ मेट्रिक टन मात्र रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार युरिया ३ हजार ३ सय ४५ मेट्रिक टन, डिएपी २ हजार २ सय ३५ मेट्रिक टन, पोटास ३ हजार ८४ मेट्रिक टन मौज्दात छ । धान गोड्दा युरिया मल प्रयोग हुने भएकाले माग उच्च छ । यो समाचार नागरिक दैनिकमा छ ।