काठमाडौं । मन्त्रालयको भागबन्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन । मन्त्रालय भागबन्डामा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद् विस्तार अझै एक दुईदिन लम्बिने भएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले मन्त्रालय भागबन्डाबारे कुरा नमिलेको बताए । ‘कुरा मिलेकै छैन । अझै एकदुई दिन मन्त्रिमण्डल विस्तार हुने अवस्था छैन,’ उनले भने । स्रोतका अनुसार भागबन्डाबारे जसपा अध्यक्ष यादव असन्तुष्ट छन् ।
भागबन्डाको विषयमा शुक्रबार बोलाइएको गठबन्धन बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एस)का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच चर्काचर्की नै भएको स्रोतको भनाइ छ । भौतिक पूर्वाधार, परराष्ट्र, सहरी विकास, संघीय मामिला, स्वास्थ्यजस्ता महत्वपूर्ण मन्त्रालयमा दुवै पार्टीले दाबी गरेपछि सहमति जुट्न नसकेको हो ।
स्रोतले भन्यो, ‘मन्त्रालयको संख्यामा भने करिबकरिब टुंगो लागेको छ तर मन्त्रालयका नाममा भने सहमति जुट्न बाँकी छ ।’ जसपाले नेकपा (एस) सरह मन्त्रालयको संख्या पाउनुपर्ने दाबी गरेको छ ।
स्रोतका अनुसार जसपा अध्यक्ष यादवले उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालय चाहेका छन् । परराष्ट्र नभए कुनै महत्वपूर्ण मन्त्रालय चाहेका छन् ।
जसपाले उपप्रधानमन्त्री पाए अध्यक्ष यादव पार्टीबाट नेतृत्व गर्दै सरकारमा जाने मुडमा छन् तर उपप्रधानमन्त्री नपाए राजेन्द्र श्रेष्ठ या महेन्द्र यादवलाई पार्टीबाट नेतृत्व गर्दै सरकारमा पठाउने सोचमा उनी छन् ।
यादव यसअघि दुईपटक उपप्रधानमन्त्री भइसकेका छन् ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।