• मंसिर १२ २०८१, बुधबार

नेवारी संस्कृतिमा गणेश चतुर्थी

भाद्र २५ २०७८, शुक्रबार

हरेक बर्ष भाद्र शुक्ल चतुर्थीका दिन नेवारहरुले चथाः नखः मान्ने गर्दछन् । चथाः देवता पूजा गर्न नेवारहरुले बिहानै उखुको बोट, अदुवाको बोट, चथाः फूल पारिजात, कमलको पात किनेर ल्याउँछन् । देवतालाई चढाउन सानो नास्पाती, हरियो झम्सी, हरियो खुर्सानी, काँचो लप्सी पनि किनेर ल्याउँछन् ।

सानो दसैं चाडका रुपमा मान्ने सन्दर्भमा समय्बजी राखेर आगम देवताको पूजा गर्छन् । नयाँ आएको मकै, पुरानो मकै, भटमास, छुस्यामुस्या, आरुको बियां, विभिन्न १२ थरी गेडागुडी लगायत छुस्यामुस्या चढाएर काँक्रो, नासपाती, अम्बा, उखुको बोट, अदुवाको बोट राखेर भोजको भाग चढाउँछन् । चथाः नखः आयो कि दसैं पनि आयो भन्ने सम्झिन्छन् ।

चथाः नखः जुन हप्तामा पर्छ महिना दिनपछि त्यही हप्तामा दसैंको कुछि भ्वय् अष्टमीको भोज पर्छ । चथाःको दिन पानी परेमा दसैंमा पनि पानी पर्छ भनिन्छ । चथाः नखः चाड राम्ररी मनाउनसके दसैंको चाड पनि राम्ररी मान्न सकिन्छ भन्ने विश्वास छ ।

त्यसैले नेवारहरुले चथाः नखः राम्ररी मानेर सानो दसैंको रुपमा देवतालाई पूजा गरेर प्रसादका रुपमा समय्बजी र छुस्यामुस्या पनि खान्छन् । अनि बेलुका भोज पनि खान्छन् । चथाःको चाडमा भोज खान नयाँ चिउरा चाहिन्छ भनी नयाँ धानको चिउरा कुटेर ल्याउँछन् ।

चथाः देवतालाई ‘चोर देवता’ पनि भनिन्छ । त्यसैले कसैलाई पनि चथाःद्यः भन्नु हुन्न रिसाउँछ । नेवारहरुले विभिन्न देवताहरुको पूजागर्ने क्रममा चोर देवतालाई पनि पूजागर्ने चलन छ । आफूलाई त्यसै त्यसै चोर दोष नलागोस् भनी चोर देवतालाई पनि पूजा गरिने हो ।

मानिसको दिनदशा बिग्रेको बेलामा चोर दोष लाग्ने, नचाहिँदो दोष लाग्नु, नभनेको वा नगरिएको काम कुरामा पनि दोष खप्नुपर्ने हुन्छ । त्यसैले त्यस्ता नचाहिदो काम कुराको दोष नलागोस् भनेर नै चोर देवतालाई पूजा गरिने हो । नेवारहरुले चोर देवता भनी मान्दै आइरहेको देवता नै चथाः देवता हो ।

चथाः देवता अर्थात् चोर देवता भनी मान्दै आइरहेको सन्दर्भमा नेवारी संस्कृतिअनुसार देवताहरुका पनि राजा देवेन्द्र ईन्द्रलाई नै चोर देवता भनी मान्दै आइरहेको पाइन्छ । एउटा किंवदन्तीअनुसार इन्द्रको आमाले बसुन्धराको पूजा गर्न चथाः स्वाँ परिजातको फूल स्वर्गमा नभएकाले फूल ल्याउन ईन्द्रलाई अ¥हाइन् । ईन्द्रले फूल खोज्दै जाने क्रममा मानिसको रुप लिई काठमाडौ भीमसेनस्थान टोलको तल खेतमा चथाः स्वाँ पारिजात टिपिरहेको बेलामा खेतका मानिस ज्यापुले देखेर चोर भनी समाई डोरीले बाँधिदिएछ ।

चोरलाई सजाय दिने क्रममा मरुको सिंह सत्तल अगाडि दोबाटोमा उभ्याएर राखेछ । चथाः स्वाँ लिन गएको इन्द्र निकैबेरसम्म पनि नआएकोले ईन्द्रको आमा त्यहाँ आएर हेर्दा त आफ्नो छोरालाई बाँधिराखेको देखी आफ्नो छोरा र आफ्नो परिचय दिंदै ज्यापुसँग क्षमा मागेर खेती गर्न ज्यापुहरुलाई नभई नहुने धान पकाउने कुइरो र दिवंगत भएकाहरुलाई स्वर्गमा लगेर सुगतिमा पार्ने बचन दिई आफ्नो छोरा ईन्द्रलाई स्वर्गमा लिएर गएकी हुन भनिन्छ ।

त्यही बेलादेखि काठमाडौका नेवारहरुले हरेक बर्ष ईन्द्रजात्राका दिन दिवंगत भएका परिवारका सदस्यहरु सुगति परोस् भनी दाँगी जाने चलन भएको हो । दाँगी हुने इन्द्रकी आमा हुन भनिन्छ । त्यसबेलादेखि इन्द्रजात्रामा जात्रा मान्ने क्रममा इन्द्रलाई डोरीले बाँधेर दुवै हात फैलाएर राखिएको काठको मूर्ति बनाई प्रदर्शन गरिंदै आएको हो भनिन्छ ।

चथाःको दिन चथाः देवतालाई राती पूजा गरिन्छ । बेलुका अँध्यारो भएपछि कुकुरहरु भुक्न थाले भने लौ चथाः देवता चोर देवता आयो पूजा गरे पनि भयो भनी कौसीमा गई पूजा गर्छन् । चथाःद्यः पूजा गर्दा गणेश र चन्द्रमासँगै राखेर देवताको पूजा गर्छन् । नेवारहरुले जुनसुकै पूजा गरे पनि नभई नहुने सुकुन्दा पनि बाल्छन् ।

सबैभन्दा पहिला सुकुन्दामा पूजा गरेपछि मात्र गणेश, चन्द्रमा र चथाः देवताको पूजा गर्छन् । चथाः देवतालाई मीठामीठा खाने कुरा राखेर पूजा गर्नु हुँदैन चोर पल्किन्छ भनी तितो टरो, नास्पाती, मुखै पोल्ने हरियो खुर्सानी, हरियो कागती र काँचो लप्सी चढाएर दाँत कुडिने र खानै नहुने गरी भुटिएको मकै, छुस्यामुस्या र गेडागुडी पनि चढाउने गरिन्छ । चथाःका दिन राती चन्द्रमा हेर्न हुँदैन चोर दोष लाग्छ भनी चन्द्रमामा नहेरी चथाः देवताको पूजा गर्छन् ।

यसरी नेवारी संस्कृतिअनुसार चथाःका दिन नेवारहरुले चन्द्रमा नहेरे झैं अन्य जातिका मानिसहरुले पनि चथाःको दिन चन्द्रमा हेर्दैनन् । उनीहरुले पनि चोर दोष लाग्छ भनी चन्द्रमा नहेर्ने गरेका हुन् । चथाःका दिन किन चन्द्रमालाई हेर्नु हुँदैन भन्ने कुरामा गणेशसँग सम्बन्ध रहेको एउटा आख्यान छ ।

भाद्रशुक्ल चतुर्थी अर्थात चथाःका दिन गणेशका जन्म भएको हो । त्यसैले शिव, पार्वती, ब्रम्हा, विष्णु लगायत ३३ कोटि देवताहरुले हर्षबढाईका साथ रमाइलो गर्दै श्रीगणेशको जन्मदिन मनाइरहेका थिए । सम्पूर्ण देवताहरुले हर्षित भई श्रीगणेशको महिमा वर्णन गर्दै आशिर्वाद दिइरहेका बेलामा चन्द्रमाले भने सबै देवताहरुको रुप राम्रो छ, तर गणेशका रुप भने हेर्दै कस्तोकस्तो छ हात्तीको टाउको जोडिएको, खुट्टा भने हात्तीकै जस्तो ठूलाठूला भ्यात परेका हात्तीपाइले त्यसमा पनि पेट भने ज्यादै ठूलो भुँडे भन्दै गिज्याइरह्यो । यसरी आफूलाई गिज्याएको देखेर गणेशले रिसाएर चन्द्रमालाई तेरो मुख राम्रो छ भन्दै तैंले अभिमान गरिस् । ‘तेरो मुख जसले हेर्छ, ऊ चोर बनोस् र महादेवको शीरबाट पनि तल झरोस्’ भनी सराप दिएछन् ।

गणेशले यसरी सराप दिएपछि त्यहाँ भएका सबै देवताहरुले चन्द्रमालाई घृणा गरेर उसको मुख हेर्नुपर्ला भनी मुन्टो बटार्न थाले । यसरी ठूलो सराप थाप्नु परेका र देवताहरुले पनि घृणा गरेकाले अत्यन्त दुःखी भई चन्द्रमा त्यहाँबाट फर्केर गई एक्लै लुकेर रोइरह्यो ।

चन्द्रमा यसरी रोइरहेको देखेर नारदले भनेछन्, ‘जेभो अब जे नहुनपर्ने हो भइसक्यो, तिमीले पनि यसरी अभिमान गरेर गणेशलाई होच्याउनु नहुने हो । अब तिमीले गणेशको सरापबाट बच्न महादेवको तपस्या गर ।’

नारदको सल्लाहअनुसार चन्द्रमाले महादेवको तपस्या गरेछन् । चन्द्रमाको तपस्याबाट खुसी भई महादेवले दर्शन दिएर चन्द्रमालाई भनेछन्, ‘गणेशले दिएको सरापबाट मैले पनि तिमीलाई बचाउन सक्दिन । त्यसैले तिमीले गणेशका पाउ परेर माफी माग्नु ।’ महादेवले नै यस्तो भनेपछि चन्द्रमाले पनि गणेश कहाँ गएर पाउ परेर माफी मागेछन् ।

गणेशले पनि मैले दिइसकेको सराप खेर जाँदैन, त्यसैले मैले दिएको सराप बर्षमा एकदिन मेरो जन्मदिन अर्थात भाद्र शुक्ल चतुर्थीका दिन मात्र लागोस् । त्यो दिन कसैले पनि तिम्रो अनुहार हेर्नुहुँदैन । हेरेमा चोर दोष लाग्छ, त्यही मान्यताअनुसार आजसम्म पनि सबैले चथाःका दिन चन्द्रमालाई हेर्दैनन् ।

गणेशको जन्मोत्सव भएकाले भाद्रशुक्ल चतुर्थीका दिन नेवारहरुले गणेशको पूजा विशेष रुपमा गर्दै जात्रा पनि मनाउँछन् । जमःमिहरुले अर्थात जमलवासीहरुले कमलादी गणेशको खट जात्रा गर्छन् । बाजागाजा सहित गणेशको खत नगर परिक्रमा गराइन्छ ।

घरैपिच्छे माटोको गणेश बनाई घरमा स्थापना गरेर चथाःका दिनदेखि ६ दिनसम्म पूजा गरेर दिनहुँ विहान बेलुका पूजा गरी भजन गाउँछन । अनि छैंठौं दिनमा घरैपिच्छेबाट गणेशका माटोका मूर्तिलाई बोकी बाहिर ल्याई जात्रा गर्दै समूह मीलेर पशुपति आर्यघाट, गुह्य्श्वरी, गौरीघाट र सुन्दरीजलको नदीमा लगेर विर्सजन गरिन्छ ।

विशेष गरेर केही बर्ष अघिदेखि नेपालमा व्यापार गरी बसेका तराईका बासिभन्दा भारतीयहरुले यस प्रकारका गणेशको पूजा गर्ने र नदीमा विसर्जन गर्ने कार्यमा व्यापकता दिन थालेको पाइन्छ । तर नेवारी संस्कृतिमा भने जुनसुकै चाडवाडमा पनि गणेशलाई पूजा गर्दा समय्बजी, जाँगरक्सी चढाएर पूजा गर्ने चलन छ । नेवारी संस्कृति र परम्पराअनुसार गणेशलाई पनि पशुबली दिने चलन छ ।