• मंसिर १० २०८१, सोमबार

तीजको अवसरमा राष्ट्रपतिको शुभकामना

भाद्र २४ २०७८, बिहीबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजको अवसरमा शुभकामना दिएकी छिन् । शुभकामना मन्तव्यमा उनले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आवद्ध गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छिन् ।

हरितालिका तीज २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताइन् ।
उनले तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेकामा जोड दिइन् ।

“सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान रहेको छ, भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा, उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको छ”, उनले सन्देशमा भनेकी छन्,‘विवाहपश्चात महिलाहरू आफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरका रूपमा समेत तीज पर्वलाई महिलाहरूले लिएको पाइन्छ ।’