• मंसिर १२ २०८१, बुधबार

लुम्बिनीका पीडा : ‘टिकट बुकिङ गरेर राखिदेऊ’

भाद्र २० २०७८, आईतवार

काठमाडौं । लुम्बिनी शान्त छ, सौम्य छ र भद्र पनि । तर अहिले लुम्बिनी त्यो भन्दा बढी शान्त र सुनसान छ । गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध पर्यटकीय स्थल लुम्बिनी सुस्ताएको छ ।

जहिले पनि ‘मानिसको चाप कसरी थेगिरहेको होला यो लुम्बिनी’ भनी त्यहाँ पुगेका धार्मिक तथा अन्य पर्यटकहरुले अन्तर मनमा सोधिरहने प्रश्न अहिले हराएको छ । बरु निसास्सिदो हुने मानिसको चाप कहाँ गयो होला भनी उल्टै प्रतिप्रश्न जन्मन्छ, लुम्बिनी पुग्दा ।

कोरोनाको महामारी घटेको छैन । मानिस आउने क्रम पनि बढेको छैन । सुनसान र शान्त छ लुम्बिनी । तर एउटा अचम्मको कुरा ! पर्यटन व्यवसायीले त्यो ठाउँमा लगानी र निर्माण गर्ने कार्यमा भने कमी ल्याएका छैनन् ।

रुपन्देहीका होटलमा झण्डै २५ अर्ब लगानी भैसकेको छ । यो सानो लगानी होइन । साना ठूला गरी २५०० भन्दा बढी होटल सञ्चालनमा छन् । १५० भन्दा धेरैले त तारे होटल सरह सुविधा दिइरहेका छन् ।

होटल व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमका अनुसार अन्तरराष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माण र सञ्चालनपछि लुम्बिनीमा पर्यटन व्यवसाय फस्टाउने संभावना बढेपछि अनपेक्षित लगानी बढेको हो । हरेक वर्ष यहाँ १०० भन्दा बढी होटल थपिने गर्दछन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा मात्रै १२४ होटल तथा रेष्टुरेण्ट छन् । अरु थुप्रै निर्माणाधीन अवस्थामा छन् । कोरोना दूर हुनसकेछ भने यी सबै फल्नेफूल्नेतिर अग्रसर हुने थिए । पर्यटक र ग्राहक नभएपछि होटल तथा रेष्टुरेन्ट छाडेर हिंडेका व्यवसायीहरु महामारी कमी भएपछि पुरानै लयमा फर्कने आशामा छन् ।

धेरै कमी हुँदा पनि दैनिक एक हजारको हाराहारीमा स्थानीय पर्यटक लुम्बिनी घुम्न आउँछन् । दिनभर घुमेर घर फर्किइहाल्छन् । तर विदेशी पर्यटकहरु भने बारम्बार फोन गरिरहन्छन् । आशाको दीयोमा तेल भरिरहन्छन् । भन्छन् : महामारी हटोस्, हामी पोल्यान्ड, फ्रान्स, जर्मनी, इटलीबाट ढिला नगरी बुद्धको जन्मस्थल भेट्न आउँछौं । अनि थप्छन् : लुम्बिनीको अन्तरराष्ट्रिय उडानको टिकट त अहिल्यै बुकिङ गर्नु पर्दैन होला नि !