• बैशाख २७ २०८३, आईतवार

को थिए जेबी टुहुरे ? यस्तो छ उनको जीवनगाथा

भाद्र १० २०७८, बिहीबार

काठमाडौँ । जनकलाकार जेबी टुहुरे अर्थात् एक युगलाई सम्बोधन गर्ने जनसंगीतकर्मीको नाम । नेपालको राजनैतिक इतिहासमा पञ्चायती कालरात्रीमा जनता जगाउँदै गाउँबेसी धाएर जनताका आवाजलाई संगीतको माध्यमबाट बुलन्द गर्ने एक साँस्कृतिक योद्धा टुहुरेले आफ्ना अनुयायीहरुलाई टुहुरो बनाउँदै यस संसारबाट बिदा भएका छन् ।

मानिस जन्मेपछि एकदिन मर्नै पर्छ । तर जनवादी कलाकार टुहुरेको भौतिक शरीर मरेर गएपनि उनी आफ्ना जनपक्षीय सिर्जना र युगको आवाज बोल्ने जनताको आवाजको साथमा हामी माझ मानव अस्तित्व रहेसम्म रहिरहने छन् । उनको भौतिक शरीर यस संसारमा नरहेपनि ‘बसाई हिड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुट्ठीभरलाई त स्वर्ग छ’, ‘आमा दिदी–बहिनी हो कति बस्छौ दासी भई, जुगको सधैं प्यासी बनेर’,‘देशभक्त छोरो मर्दा देशै रुँदो रैछ’, लगायतका कालजयी सिर्जनाहरु हामीमाझ जीवन्त बनेर रही रहनेछन् ।

श्रद्दान्जलीका लागि राखिएको कलाकार जेबी टुहुरेको पार्थिव शरीर
श्रद्दान्जलीका लागि राखिएको कलाकार जेबी टुहुरेको पार्थिव शरीर

नेपाली वामपन्थी आन्दोलनमा एक सम्मानित कलाकर्मी बनेका जनवादी कलाकार जेबी टुहुरे अर्थात जुठ बहादुर खड्गीको भौतिक शरीरबाट उनको प्राण गएको भएपनि उनी र उनको सिर्जना हाम्रो समाजमा सधैं जीवित रहनेछन् ।

व्यापारीको छोरा जनताको संगीतमा समर्पित

जनताका गीत–संगीतमा समर्पित वरिष्ठ जनवादी गायक तथा संगीतकर्मी जेबी टुहुरेका बुवा एक व्यापारी थिए । उनका बुवाको नाम कृष्णबहादुर खड्गी हो । टुहुरेको जन्म वि.सं २०११ साल कार्तिक १५ गते धरानको पुरानो बजारमा भएको थियो । उनी जन्मेपछिको केही समयमा उनका बुवाले मोरङको मधुमुल्लामा बसाई सरेका थिए । व्यापारका क्रममा उनका बुवा त्यहाँ बसाई सरेका थिए । टुहुरे भने व्यापारमा नलागेर संगीतमा लागे । बुवासँग भागेर टुहुरे मधुमुल्लाबाट काठमाडौँ आएर युवा अवस्थामा वि.सं २०१९ सालमा रेडियो नेपालमा एउटा आफ्नो गीत रेकर्ड गराए । व्यवसायिक रुपमा गीत–संगीतमा लाग्ने हेतुले टुहुरेले २०१९ सालमा ‘हा हा काली हा छैन…’ बोलको गीत रेकर्ड गराएका थिए ।

कम्युनिष्ट विचारधारासँग समाहित
गीत गाउन काठमाडौँ आउने जाने गर्दा २०२४ सालमा टुहुरे पारिजातसँग नजिक हुन पुगे । उनी पारिजातसँग नजिक हुँदाको समयमा पारिजात, रामेश, रायन, मञ्जुल र अरिम लगायतका व्यक्तित्वहरु मिलेर ‘राल्फा’ आन्दोलन गरिरहेका थिए । राल्फाका सञ्चालकहरुसँगको सम्बन्धले गर्दा टुहुरे पनि कम्युनिष्ट बन्न पुगे । आफू स्वयम राल्फामा संलग्न नभएपनि उनले सो आन्दोलनलाई नजिकबाट सहयोग गरे । उनीहरुको त्यो समयमा पनि आजको जस्तै नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न समूह गुट र उपगुटमा नै विभाजित रहेको थियो ।

 

समर्थक तथा शुभ चिन्तकहरु त्यही टुक्राटुक्रा भएको कम्युनिष्टका विभिन्न घटकमध्ये आफ्नो पायक पर्ने र सजिलो हुने समूहमा जोडिन्थे । सोही क्रममा टुहुरे २०२५ सालमा कम्युनिष्ट पार्टीको एउटा घटक पूर्वकोशी प्रान्तीय कमिटीमा संग्लन भए । पूर्वकोशी प्रान्तीय कमिटीका नेता दधिराम आचार्यबाट उनले कम्युनिष्ट पार्टीको सदस्यता लिए ।

कलाकार टुहुरेको पार्थिव शरीरलाई पशुपती आर्यघाटमा अन्त्यष्टी गरिंदै

कम्युनिष्ट पार्टीको सदस्यता लिएपनि उनको मुख्य काम गीत संगीत नै थियो । पहिले व्यवसायिक रुपमा मायाप्रेमका गीत गाउने उनी अब देश र जनताका गीत गाउन थाले । कम्युनिष्ट पार्टीको सदस्य भएपछि उनले लव प्रधानले सिर्जना गरेको गीत, ‘बसाईं हिँड्नेको ताँतीले…’ बोलको गीत गाए । यो गीत गाएपछि उनी जनतामा जनताका गायक भनेर चिनिए ।

यही बीचमा राल्फा समूह पनि विभाजित भयो । राल्फाका रायन नेकपा (चौम)तिर लागे र उनीहरुले वेदना साँस्कृतिक परिवार बनाए । रामेश, मञ्जुलहरु नेकपा (माले)तिर लागे । पूर्वकोशी प्रान्तीय कमिटी हुँदै टुहुरे पनि मालेमा आइपुगे । त्यहाँ टुहुरे, रामेश, मञ्जुल, शम्भु राई, रामकृष्ण दुवाल लगायत मिलेर संकल्प गीति यात्रा बनाए ।

संकल्प यात्राकै क्रममा टुहुरेले ‘आमा दिदी बहिनी हो….’ बोलको गीत गाएका हुन् । संकल्प गीति यात्रा लिएर उनीहरु पूर्वका गाउँगाउँ चाहारेर पञ्चायती कालरात्री विरुद्ध जनता जगाए । जेबी टुहुरेले २०३४ सालमा आफ्नै गाउँ धरानमा ‘आमा दिदी–बहिनी हो…’ बोलको गीत गाएका थिए । यो गीतले उनलाई अर्को उचाई प्रदान गर्यो ।

कलाकार टुहुरेको पार्थिव शरीर

यसरी रहन गयो टुहुरे नाम
जनवादी कलाकार जेबी टुहुरेको खास नाम जुठबहादुर खड्गी हो । लामो समयसम्म उनको नाम यही नै थियो । २०२१ सालमा उनका बुवा बितेपछि उनले आफूलाई टुहुरो भएको महशुस गरेर आफ्नो नाम जुठबहादुर खड्गीबाट परिवर्तन गरेर जेबी टुहुरे राखेका थिए । आज संसारका नेपाली भाषीहरुले उनलाई जनवादी गायक जेबी टुहुरे भनेर नै चिन्दछन् ।

३ कक्षा मात्र पढेका शिक्षक
कलाकार जेबी टुहुरेले आफूले औपचारिक रुपमा विद्यालयमा कक्षा ३ सम्म मात्र पढेका थिए । तर गाउँकै विद्यालयमा उनले केही समय पढाएका पनि थिए । उनले पढाएका धेरै विद्यार्थीहरु अहिले पनि राजनीतिमा चर्चित नै रहेका छन् । पूर्वमन्त्री रकम चेम्जोङ उनका तिनै शिष्यमध्येका एक हुन् जसलाई उनले विद्यालयमा पढाएका थिए ।

एक सफल संगीतकर्मी

कलाकार टुहुरेको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाइदै

आजसम्म करिव १५० गीत रेकर्ड गराएका जेबी टुहुरेले नेपाली जनताको जिब्रोमा झुण्डिएका त्यस्ता गीत गाएका छन् जो कहिल्यै पुराना हुँदैनन् । २०२७ सालमा त्रिभुवन विस्वविद्यालयको अडिटोरियम हलमा अनेरास्ववियुको आयोजनामा ‘वान मेन शो’ नामक उनको एकल साँझ भएको थियो । २०४४ सालमा स्थापित जनसाँस्कृतिक मञ्च को संस्थापक सदस्य रहेका उनी पछि त्यही जनसाँस्कृतिक मञ्चको दुई पटक केन्द्रिय अध्यक्ष समेत भए । नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य समेत भएका उनी दोस्रो संविधान सभामा माओवादी केन्द्रको तर्फबाट समानुपातिक सभासद पनि रहेका थिए । २०७५ सालमा उनको नाममा जेबी टुहुरे प्रतिष्ठान स्थापना भएको छ ।

अस्ताए एउटा संगीतका योद्धा
नेपालको राजनैतिक इतिहाको कालरात्रीको विरुद्ध गीत संगीतबाट उज्यालो छर्दै आफ्नो जीवन व्यतित गरेका उनले राज्यबाट शोषित, पीडित, उपेक्षित किसान मजदुर र गरिबका आवाजलाई संगीतको माध्यमबाट बुलन्द गराए । जीवन कालमा सरल र मिजासिलो स्वाभावका उनले सधैं निमुखाको आवाज मात्र बोले । उनका २० वटा जति गीतहरु रेकर्ड गर्ने कामलाई बाँकी राख्दै ७८ वर्षको उमेरमा घरमै पक्षघात भएर लडेपछि उपचारको लागि राजधानीको बल्खुस्थित वयोधा अस्पतालमा रहदा मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको बिमारीलाई सहन नसकेर उनले यस संसारबाट बिदा लिएका छन् । यस्ता महान जनसंगीतकर्मी टुहुरेलाई हार्दिक श्रद्दान्जली !