काठमाडौँ । जनकलाकार जेबी टुहुरे अर्थात् एक युगलाई सम्बोधन गर्ने जनसंगीतकर्मीको नाम । नेपालको राजनैतिक इतिहासमा पञ्चायती कालरात्रीमा जनता जगाउँदै गाउँबेसी धाएर जनताका आवाजलाई संगीतको माध्यमबाट बुलन्द गर्ने एक साँस्कृतिक योद्धा टुहुरेले आफ्ना अनुयायीहरुलाई टुहुरो बनाउँदै यस संसारबाट बिदा भएका छन् ।
मानिस जन्मेपछि एकदिन मर्नै पर्छ । तर जनवादी कलाकार टुहुरेको भौतिक शरीर मरेर गएपनि उनी आफ्ना जनपक्षीय सिर्जना र युगको आवाज बोल्ने जनताको आवाजको साथमा हामी माझ मानव अस्तित्व रहेसम्म रहिरहने छन् । उनको भौतिक शरीर यस संसारमा नरहेपनि ‘बसाई हिड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुट्ठीभरलाई त स्वर्ग छ’, ‘आमा दिदी–बहिनी हो कति बस्छौ दासी भई, जुगको सधैं प्यासी बनेर’,‘देशभक्त छोरो मर्दा देशै रुँदो रैछ’, लगायतका कालजयी सिर्जनाहरु हामीमाझ जीवन्त बनेर रही रहनेछन् ।

नेपाली वामपन्थी आन्दोलनमा एक सम्मानित कलाकर्मी बनेका जनवादी कलाकार जेबी टुहुरे अर्थात जुठ बहादुर खड्गीको भौतिक शरीरबाट उनको प्राण गएको भएपनि उनी र उनको सिर्जना हाम्रो समाजमा सधैं जीवित रहनेछन् ।
व्यापारीको छोरा जनताको संगीतमा समर्पित
जनताका गीत–संगीतमा समर्पित वरिष्ठ जनवादी गायक तथा संगीतकर्मी जेबी टुहुरेका बुवा एक व्यापारी थिए । उनका बुवाको नाम कृष्णबहादुर खड्गी हो । टुहुरेको जन्म वि.सं २०११ साल कार्तिक १५ गते धरानको पुरानो बजारमा भएको थियो । उनी जन्मेपछिको केही समयमा उनका बुवाले मोरङको मधुमुल्लामा बसाई सरेका थिए । व्यापारका क्रममा उनका बुवा त्यहाँ बसाई सरेका थिए । टुहुरे भने व्यापारमा नलागेर संगीतमा लागे । बुवासँग भागेर टुहुरे मधुमुल्लाबाट काठमाडौँ आएर युवा अवस्थामा वि.सं २०१९ सालमा रेडियो नेपालमा एउटा आफ्नो गीत रेकर्ड गराए । व्यवसायिक रुपमा गीत–संगीतमा लाग्ने हेतुले टुहुरेले २०१९ सालमा ‘हा हा काली हा छैन…’ बोलको गीत रेकर्ड गराएका थिए ।
कम्युनिष्ट विचारधारासँग समाहित
गीत गाउन काठमाडौँ आउने जाने गर्दा २०२४ सालमा टुहुरे पारिजातसँग नजिक हुन पुगे । उनी पारिजातसँग नजिक हुँदाको समयमा पारिजात, रामेश, रायन, मञ्जुल र अरिम लगायतका व्यक्तित्वहरु मिलेर ‘राल्फा’ आन्दोलन गरिरहेका थिए । राल्फाका सञ्चालकहरुसँगको सम्बन्धले गर्दा टुहुरे पनि कम्युनिष्ट बन्न पुगे । आफू स्वयम राल्फामा संलग्न नभएपनि उनले सो आन्दोलनलाई नजिकबाट सहयोग गरे । उनीहरुको त्यो समयमा पनि आजको जस्तै नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न समूह गुट र उपगुटमा नै विभाजित रहेको थियो ।
समर्थक तथा शुभ चिन्तकहरु त्यही टुक्राटुक्रा भएको कम्युनिष्टका विभिन्न घटकमध्ये आफ्नो पायक पर्ने र सजिलो हुने समूहमा जोडिन्थे । सोही क्रममा टुहुरे २०२५ सालमा कम्युनिष्ट पार्टीको एउटा घटक पूर्वकोशी प्रान्तीय कमिटीमा संग्लन भए । पूर्वकोशी प्रान्तीय कमिटीका नेता दधिराम आचार्यबाट उनले कम्युनिष्ट पार्टीको सदस्यता लिए ।

कम्युनिष्ट पार्टीको सदस्यता लिएपनि उनको मुख्य काम गीत संगीत नै थियो । पहिले व्यवसायिक रुपमा मायाप्रेमका गीत गाउने उनी अब देश र जनताका गीत गाउन थाले । कम्युनिष्ट पार्टीको सदस्य भएपछि उनले लव प्रधानले सिर्जना गरेको गीत, ‘बसाईं हिँड्नेको ताँतीले…’ बोलको गीत गाए । यो गीत गाएपछि उनी जनतामा जनताका गायक भनेर चिनिए ।
यही बीचमा राल्फा समूह पनि विभाजित भयो । राल्फाका रायन नेकपा (चौम)तिर लागे र उनीहरुले वेदना साँस्कृतिक परिवार बनाए । रामेश, मञ्जुलहरु नेकपा (माले)तिर लागे । पूर्वकोशी प्रान्तीय कमिटी हुँदै टुहुरे पनि मालेमा आइपुगे । त्यहाँ टुहुरे, रामेश, मञ्जुल, शम्भु राई, रामकृष्ण दुवाल लगायत मिलेर संकल्प गीति यात्रा बनाए ।
संकल्प यात्राकै क्रममा टुहुरेले ‘आमा दिदी बहिनी हो….’ बोलको गीत गाएका हुन् । संकल्प गीति यात्रा लिएर उनीहरु पूर्वका गाउँगाउँ चाहारेर पञ्चायती कालरात्री विरुद्ध जनता जगाए । जेबी टुहुरेले २०३४ सालमा आफ्नै गाउँ धरानमा ‘आमा दिदी–बहिनी हो…’ बोलको गीत गाएका थिए । यो गीतले उनलाई अर्को उचाई प्रदान गर्यो ।

यसरी रहन गयो टुहुरे नाम
जनवादी कलाकार जेबी टुहुरेको खास नाम जुठबहादुर खड्गी हो । लामो समयसम्म उनको नाम यही नै थियो । २०२१ सालमा उनका बुवा बितेपछि उनले आफूलाई टुहुरो भएको महशुस गरेर आफ्नो नाम जुठबहादुर खड्गीबाट परिवर्तन गरेर जेबी टुहुरे राखेका थिए । आज संसारका नेपाली भाषीहरुले उनलाई जनवादी गायक जेबी टुहुरे भनेर नै चिन्दछन् ।
३ कक्षा मात्र पढेका शिक्षक
कलाकार जेबी टुहुरेले आफूले औपचारिक रुपमा विद्यालयमा कक्षा ३ सम्म मात्र पढेका थिए । तर गाउँकै विद्यालयमा उनले केही समय पढाएका पनि थिए । उनले पढाएका धेरै विद्यार्थीहरु अहिले पनि राजनीतिमा चर्चित नै रहेका छन् । पूर्वमन्त्री रकम चेम्जोङ उनका तिनै शिष्यमध्येका एक हुन् जसलाई उनले विद्यालयमा पढाएका थिए ।
एक सफल संगीतकर्मी

आजसम्म करिव १५० गीत रेकर्ड गराएका जेबी टुहुरेले नेपाली जनताको जिब्रोमा झुण्डिएका त्यस्ता गीत गाएका छन् जो कहिल्यै पुराना हुँदैनन् । २०२७ सालमा त्रिभुवन विस्वविद्यालयको अडिटोरियम हलमा अनेरास्ववियुको आयोजनामा ‘वान मेन शो’ नामक उनको एकल साँझ भएको थियो । २०४४ सालमा स्थापित जनसाँस्कृतिक मञ्च को संस्थापक सदस्य रहेका उनी पछि त्यही जनसाँस्कृतिक मञ्चको दुई पटक केन्द्रिय अध्यक्ष समेत भए । नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य समेत भएका उनी दोस्रो संविधान सभामा माओवादी केन्द्रको तर्फबाट समानुपातिक सभासद पनि रहेका थिए । २०७५ सालमा उनको नाममा जेबी टुहुरे प्रतिष्ठान स्थापना भएको छ ।
अस्ताए एउटा संगीतका योद्धा
नेपालको राजनैतिक इतिहाको कालरात्रीको विरुद्ध गीत संगीतबाट उज्यालो छर्दै आफ्नो जीवन व्यतित गरेका उनले राज्यबाट शोषित, पीडित, उपेक्षित किसान मजदुर र गरिबका आवाजलाई संगीतको माध्यमबाट बुलन्द गराए । जीवन कालमा सरल र मिजासिलो स्वाभावका उनले सधैं निमुखाको आवाज मात्र बोले । उनका २० वटा जति गीतहरु रेकर्ड गर्ने कामलाई बाँकी राख्दै ७८ वर्षको उमेरमा घरमै पक्षघात भएर लडेपछि उपचारको लागि राजधानीको बल्खुस्थित वयोधा अस्पतालमा रहदा मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको बिमारीलाई सहन नसकेर उनले यस संसारबाट बिदा लिएका छन् । यस्ता महान जनसंगीतकर्मी टुहुरेलाई हार्दिक श्रद्दान्जली !