नाग पञ्चममी आयो कि उपत्यकाका विभिन्न नेवार बस्तीमा संन्ध्याकालमा लाखे नाच नचाउन थालिहाल्छ । नाग पञ्चमीदेखि कृष्णष्टमीसम्म विभिन्न टोलमा लाखे नाच नचाइन्छ । विशेष गरेर मतिगा लाखेलाई यसै समयमा नचाइने मुख्य लाखेको रुपमा लिइन्छ ।
अन्य साधारण खालका लाखेको नाच पनि विभिन्न टोलमा नचाइने गरिन्छ । विशेष लाखे नाच नाग पञ्चमीदेखि कृष्णष्टमीसम्म र ईन्द्रजात्राको अवधि आठ दिनसम्म लाखे नाच नचाइने चलन छ । ईन्द्रजात्राको अवधिमा नचाइने लाखेलाई मजिपाः लाखे भनिन्छ ।
उपत्यकामा लाखे नाच नचाउने चलन कहिलेदेखि सुरुआत भयो भन्ने सन्दर्भमा राजा हरिसिंहदेवले सिमौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ ।
कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा भित्र्याएका हुन् भनिन्छ । नुवाकोटबाट ल्याइएको लाखे चाहीं सबल बहालका द्यःला लाखे हो भनिन्छ भाषा वंशावलीअनुसार लाखे नाचको चलन काठमाडौंका राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइछ ।
लाखे नाच विशेष गरेर धाः र मुस्याः बाजा बजाएर नचाइन्छ । खिं पछिमा, नाय्खिं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नाच नचाइन्छ । नेवारी लोकगीतको धुनमा बाँसुरी बजाएर लाखे नचाउँदा दर्शकहरुले रमाइलो मान्छन् ।
लाखेनाच सँगै झ्यालिंचालाई पनि नचाइन्छ । कागज र प्लाष्टिकको मुखौटा लगाएर झयालिंचा जोकर जस्तै भएर भेषभूषा पनि त्यस्तै लगाएर लाखेका नक्कल गर्दै गिज्याउने गर्छ भने लाखेले झ्यालिंचालाई लखेटने गर्छ ।
झ्यालिंचा चाहिं दर्शकहरुको समूह भित्र छिर्दै लाखेलाई हायल कायल पार्दै दर्शकहरुलाई थप मनोरञ्जन दिइरहेको हुन्छ । पहिला पहिला झ्यालिंचा थिएन रे । एक पटक एकजना झ्यालिंचा नामक उपद्रयाहा मानिसले लाखेलाई जिस्काउन थालेछ । अनि लाखेले रिसाएर त्यस झ्यालिंचालााई पिटेर लात्ती हानी पठाएछ । पछि त्यसैको नक्कल गरेर लाखेसँगै झ्यालिंचाको नाच पनि नचाउन थालिएको हो भनिन्छ ।
कथा १ :
काठमाडौको मजिपाट टोलबाट हरेक वर्ष ईन्द्रजात्राको समयमा निकालिने मजिपा लाखेलाई शान्त भैरवका रुपमा पनि लिइन्छ । ईन्द्रजात्राको बेलामा कुमारीको रथयात्रा गर्दा देवीलााई बाटो देखाउने भन्दै रथको अघिअघि मजिपा लाखे नाच्दै नाच्दै हिंड्ने गर्छ ।
खेतीको काम चाँडै सकाएको देखेर केटीका आमाबाबु आश्चर्यमा पर्दा रहेछ । तर खास कुरा के हो भन्ने उनीहरुलाई थाहा थिएन । पछि त लाखे केटीको घर मजिपाटमा आउने गर्न थालेछ ।
तर यसै समयमा टोलका बच्चा पनि हराउन थालेछ । टोलबासीहरुले त्यो लाखेले गर्दा नै टोलका बच्चा हराएको हो भन्ने शंका गरेर एकदिन चियो वसेर टोलबासीहरुले लाखेलाई समातेछन् ।
टोलवासीहरुले लाखेलाई पिट्न सम्म पिटेर केरकार गरेपछि त्यो लाखेले आफ्नो गल्ती स्विकार्दै केटीसँग सम्बन्ध भएको र कुनै पनि हालतमा आफ्नो प्रेमिकालाई छोड्न नसक्ने बताउँदै, आइन्दा टोलका बच्चाहरुको रक्षा गर्ने, टोलवासीहरुलाई दुःख नदिने र टोलमा भूत प्रेतबाट सुरक्षा गर्ने बचनवद्ध भई प्रतिज्ञा गर्यो रे ।
अनि सबै टोलबासी मिलेर त्यही टोलमा एउटा घर बनाइ दिएर लाखेलाई त्यहीं राखेछन् । पछि त्यो लाखे त्यही सिद्ध भएका हुन् भनिन्छ । अहिलेसम्म पनि मजिपा लाखे ननी मजिपाटमा लाखेको घर छ ।
लाखेको उक्तघर जीर्ण भएकाले हाल नयाँ बनाइएको छ । लाखेको पूजा गर्ने चलन छ । मजिपा लाखे हल्चोकको शान्त भैरवको एक रुप हो भनिन्छ । हाल सम्म पनि राती लाखे घर भित्रबाहिर गरिरहने र घंगलाको आवाज पनि सुन्ने गरेको कुरा स्थानीयहरुले बताउँछन् ।
कथा २ :
ईन्द्रजात्रामा यो मजिपा लाखे निकालिन्छ । लाखेको मुकुण्डोमा पूजा गरिसके पछि लाखे आजु आफ्नो घरबाट बाहिर आउनु हुन्छ । न्हूघः र चिकं मुगःको दोबाटोमा तीन पटक उफ्रिनु हुन्छ, नृत्यको शुभारम्भ गर्नु हुन्छ । अनि बाजाको तालमा नाच्दै नाच्दै गएर सबैभन्दा पहिला यंगाल टोलको प्रधानहको क्लब घरमा पूजा थाप्नु हुन्छ ।
यसो किन गर्नु परको भन्दा यसको पनि कारण रहेछ । धेरै वर्ष अगाडि भारतमा यहाँका प्रधानहरु हिरामोतीको खेप गर्न जाँदा रहेछन् र त्यसरी जाँदा समुद्र तरेर जहाजबाट जानु पर्दो रहेछ । एक पटक हिरामोतीको खेप गरेर फर्केर आउँदा समुद्रको बीचमा जहाज पल्टेर डुब्ला डुब्ला जस्तै भएछ ।
त्यसैबेला एउटा मानिससले सबैभन्दा बलवान तिम्रो भगवानलाई पुकार गर भनेछ । अनि प्रधानहरुले आफनो घर नजिकै रहेका लाखेलाई पुकार गरेछन् । तत्काल लाखेले यंयलाको आवाज दिंदै जहाजलाई बचाइदिएछ । अनि प्रधानहरले घर फर्केपछि फर्केर आएपछि लाखेलाई भव्य पूजा गरेर मुखुण्डोमा ठूलो हिराको टीका चढाइदिएछन् ।
त्यसै बेलादेखि लाखेले सवैभन्दा पहिला यंगाल टोलका प्रधानहरुको घरमा गई पूजा थाप्न जाने चलन चलेको हो भनिन्छ ।
कथा ३ :
सबल बहालको मतिगा लाखे नाचले द्यःला समाजको पहिचानलाई झनै महत्वपूर्ण बनाइदिएको छ । किंवदन्ती अनुसार मतिगा लाखे कहींबाट आएर सवल बहालकी एउटी केटीसँग प्र्रेम गरी विवाह गरेर त्यही घरमा दोलाजी बसेको रहेछ ।
मतिगा रसरंग गर्नु पर्ने र समाजसेवा पनि गर्ने भएकोले सवैले मन पराउँदा रहेछन् । उही मतिगाको जीउमा देवता प्रवेश गरेकाले मुकुण्डो लगाइदिएर मतिगा लाखेनाच नचाउन थालेको हो भनिन्छ । मतिगा लाखेनाच कहिलेदेखि सुरु भएको हो भन्ने तथ्य यसै भन्न सकिन्न ।
तर सम्बन्धित मानिसहरुका भनाइअनुसार ने.सं. ९० देखि मतिगा लाखेनाच नचाउँदै आएको हो । मतिगा लाखे कहाँबाट आयो ? कुन द्यःला युवतीसँग विवाह भएको हो कसैलाई थाहा छैन । द्यःला समाजले भने आफ्नै चेलीबेटी हुन् भन्ने विश्वास गर्दै आएका छन् ।