काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँग लत्रेर, झुकेर र अपमानपूर्वक ढंगले एकता हुन नसक्ने प्रष्ट पारेका छन् ।
आफू पक्षीय केन्द्रीय कमिटीको काठमाडौंमा दुई दिनसम्म बसेको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफू एकता विरोधी नभएको र सम्मानजनक एकताका लागि आफू सधैं तयार रहे पनि अध्यक्ष ओलीले नै एकताको वातावरण बिगार्दै गएकाले अपमानजक एकता नहुने प्रष्ट पारेको बताए ।
नेता नेपालले अहिलेसम्म एकताका लागि भएका छलफल, राजनीतिक घटनाक्रम र आफ्नो अडानबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराउँदै केही विषयमा सहमति भएपनि केही विषय अझै मिल्न बाँकी रहेको बताएका थिए । बैठकमा नरम रुपमा प्रस्तुत भएका नेता नेपालले नेपालको कम्युनिस्ट आन्दोलन इतिहासमै सबैभन्दा संकटकमा रहेको र एमाले केन्द्रदेखि वडातहसम्म विभाजित भएको अवस्थामा पुगेको बताएका थिए ।
‘अहिले हामी इतिहासकै संकटपूर्ण अवस्थामा छौं, तर फेरि पनि नेकपा एमालेलाई एकतावद्ध बनाएर लैजाने हाम्रो चाहाना हो । हाम्रो चाहाना विभाजन होइन, एकता नै हो । तर, एकताका लागि वातावरण बनिसकेको छैन’, बैठकमा नेता नेपालको भनाइ थियो ।
उनले एमाले एकताका लागि निर्णायक ढंगले प्रयत्नहरु गनुपर्ने भन्दै विघटित कार्यदलका नेताहरुलाई पनि एकता छिटो टुंगो लगाउन भनेको बताएका थिए ।
‘एकताको कुरा भइरहेको छ । केन्द्रीय कमिटीका कमरेडहरुले व्यक्तिगत लाञ्छना लाग्ने, अभद्र र अमर्यादित ढंगले प्रस्तुत नहुन, अन्तवार्ता नदिन र नबोल्न म तपाईंहरुलाई निर्देशन गर्छु’, नेताहरुलाई निर्देशन दिँदै नेता नेपालले भने, ‘कतिपय मान्छेहरुले अनेक ढंगले हामीमाथि गालीगलौज गरिरहेका छन् तर हाम्रो संस्कार त्यो होइन । हुन सक्दैन । हामी निर्णायक र सम्मानजनक एकता भनिरहेका छांै ।’