लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताएकी छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले जबर्जस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको खुलासा गरिन्। साथै,उनले आफू माओवादी केन्द्रमै रहेको जिकिरसमेत गरेकी छन् ।
आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै साउन १६, १७ र १८ गते मुख्यमन्त्री निवासबाट बाहिर निस्कन नदिइ निरन्तर दबाब दिइएको उनले बताइन् । ‘मैले इन्कारी जारी राखेँ, साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिइ जबरजस्ती हस्ताक्षर गराइयो,’ विज्ञप्तिमा उनले भनेकी छन्, ‘यतिमात्र नभई अर्को दुई तीनवटा माइन्युट जस्ता रजिस्टरमा पनि जबर्जस्ती हस्ताक्षर गराइयो ।’
त्यसपछि आफूले मुख्यमन्त्री निवासबाट उन्मुक्ति पाउने र बाहिर गएपछि सबै घटना सार्वजनिक गर्ने योजना बनाए पनि आफूलाई अझ कडाईका साथ मुख्यमन्त्री निवासमै राखिएको र २० गते बिहान आफूलाई असह्य पीडा भएको र यहाँबाट जसरी पनि निस्कनुपर्छ भनेर सोच बनाएर दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका छोपेर ट्वाइलेटको चप्पल लगाएर नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको पनि उनले विज्ञप्तिमा उल्लेख गरेकी छन्।

