काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेबीच मंगलबार भेटवार्ता भएको छ।
उपसभापति विमलेन्द्र निधिको निवास नयाँ बानेश्वरमा मंगलबार बिहान भएको भेटमा राजदूत डेप्रेले नेपालमा कोरोना महामारी नियन्त्रणमा इयूका तर्फबाट सहयोग गर्ने बताएकी छन्।
भेटमा राजदूत डेप्रेले प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको विविध विकासमा आफूहरुले सहयोग गर्ने पनि बताएकी निधिको सचिवालयले जानकारी दिएको छ।
राजदूत डेप्रेले वैकल्पिक ऊर्जा, जलवायु परिवर्तन, लैङ्गिक समानता लगायतका क्षेत्रमा इयूले गर्न चाहेको सहयोगबारे पनि उपसभापति निधिसँग कुरा गरेकी छन्।
भेटमा उपसभापति निधिले नेपालको विकासमा इयूले गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि इयूको सहयोग जारी रहने विश्वास व्यक्त गरे।