काठमाडौँ। कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. जागेश्वर गौतमको सरुवा प्रधानमन्त्री शेरबहादुर देउवाकाे निर्देशनमा राेकिएको छ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाको निर्देशनपछि गौतमसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जनाको जिम्मेवारी हेरफेर स्थगित गरिएको हो।
सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्री स्तरीय निर्णय गर्दै युनिफाइड केन्द्रीय अस्पतालमा डा. गौतमको ठाँउमा डा. रुद्र मरासिनी, मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा डाक्टर विवेककुमार लाल, सार्क क्षयरोग केन्द्रमा डा. रीता भण्डारी जोशीलाई जिम्मेवारी तोक्ने निर्णय गरेका थिए। डा. गौतमलाई भने प्रसूति गृहमा सरुवा गरिएको थियो।
सो निर्णय सञ्चारमाध्यममा सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले हस्तक्षेप गर्दै निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत प्रधानमन्त्री देउवा आफूले सम्हालेको हुँदा हाललाई यो निर्णय नगर्न निर्देशन भएकोले स्थगित गरिएको बताइएको छ।