• बैशाख २६ २०८३, शनिबार

मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी

श्रावण १८ २०७८, सोमबार

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । आफ्नो अभिव्यक्तिलाई लिएर विवाद भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् ।

केही दिनअघि प्रशिक्षक अल्मुताइरीले फुटबल क्षेत्र तन्दुरुस्त पार्न खेलाडीसँगै खेलकुद पदाधिकारीहरुको मानसिकता पनि परिर्वतन हुनुपर्ने अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका थिए । त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फाका) वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले उनीमाथि कारबाही मागसमेत गरेका थिए । यसै सिलसिलामा प्रशिक्षक अल्मुताइरीसँग चिढिएका एन्फा प्रवक्ता किरण राईले पदबाट राजिनामा दिएका छन् ।

तर, प्रशिक्षक अल्मुताइरीले भने सामाजिक सञ्जाल फेसबुकमार्फत सबैसँग क्षमाचाचना गरेका छन् । उनल लेखेका छन्, ‘मेरा शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा मेरो भनाइको गलत अर्थ लागेको महसुस भएको छ । त्यसप्रति म क्षमा चाहन्छु ।’

यसअघि उनले भनेका छन्, ‘नेपाली जनता, विशेषगरी पूर्व खेलाडी र प्रशिक्षक वा जसले मेरो सोचबारे गलत बुझे, उनीहरु सबैप्रति क्षमाप्रार्थी छु ।’

साथै, कसैप्रति पनि गलत नियत नराखेको र नेपाली फुटबल टिमसँग जोडिएर काम गर्न पाउँदा निकै खुसी भएको मुख्य प्रशिक्षक अल्मुताइरीले भावना प्रकट गरेका छन् ।